भानुभक्त को हुन् ?
कविता लेखे, कवि हुन् । महाकाव्य लेखे, महाकवि हुन् ।
त्यसअघि नेपाली कवितामा नभएका विशिष्टता उनका कवितामा देखिए । उनीभन्दा पहिले नेपालीमा कविता लेख्ने प्रभावशाली कवि कोही थिएनन्, तर भानुभक्तका कविता प्रभावशाली थिए । भानुभक्तका कविताको मर्म, अर्थ, लालित्य समाजलाई प्रिय लाग्यो । तत्कालीन शासकले पनि त्यसबखतका साहित्य र भाषाका मर्मज्ञसितका सल्लाहमा भानुभक्तलाई आदिकविको पदवी दिए ।
भानुभक्त आचार्य आदिकवि कहलाए ।
भाषाका हिमायती भानुभक्त
विसं १९०० (ईसं १८४०) तिर, अर्थात आजभन्दा लगभग १८० वर्ष पहिले नेपाली साहित्य बामे सर्दै थियो । सत्ताको स्रोत राजदरवार उथलपुथलको केन्द्र थियो। दरबारी षडयन्त्रका कारण शाहवंशका राजा बिस्तारै कमजोर हुँदै थिए, एकतन्त्रीय जहानियाँ शासन चलाउने जङ्गबहादुरको उदय हुँदै थियो । नेपाली समाज अनिश्चित राजनीतिक अवस्थामा गुज्रेको थियो । यस्ता अवस्थामा सामाजिक अस्तव्यस्तता हुनु स्वाभाविक थियो ।
तिनताका संस्कृतमा कविता लेखिंन्थे । संस्कृतमा लेख्नु नै गर्व थियो,ठुल्याइँ थियो । ठुलाबडा, पण्डित, अध्यापक, सबै संस्कृतलाई देवभाषा मान्थे, किनकि वेद, उपनिषद्, पुराण, श्रुतिस्मृति परम्पराबाट आएका अन्य ग्रन्थ, संहिता आदि सबै संस्कृतमै थिए । नेपाली भाषाले सामान्य प्रचलन र साहित्यबाट समृद्धि पाएकै थिएन । अध्ययन र अध्यापनबाट व्यक्तिको ज्ञान र कौशल निखारिने अवस्था थिएन । नेपालमा गुरुकुल अत्यन्त थोरै थिए । विद्याआर्जनका लागि काशी (वनारस) जानुपर्थ्यो । यताहुँदी पढ्न पाइने अवस्था थिएन । पढ्ने अभिलाषा राख्ने सबै उतै जान्थे, भानुभक्त पनि गए ।
जेठो छोराको जेठो वा पहिलो नाति भएकाले उनको सान्निध्य हजुरबासित हुनु स्वाभाविक देखिन्छ । सायद उनी जन्मिँदा अरूमध्ये केही काकाहरूको बिहेबारी नै भएको थिएन होला । भानुका बाबु धनन्जय सरकारी जागिरमा थिए, भेटिएका प्रमाणले पाल्पामा खरिदार थिए । अरू भाइहरूको जागिर वा कामकाजको अन्य स्थिति थाहा छैन । तर उनका हजुरबाका २५ सय मुरी धान उब्जने खेत, सोहीअनुसारको पाखो बारी र १८ हल गोरू भएको कथनचाहिँ छ । त्यसकारण पढाइलाई अघि नबढाउनेले सामान्य खेती किसानीको काममै रहनु स्वाभाविक थियो ।
भानुभक्त उनका बाजे अथवा हजुरबा श्रीकृष्ण आचार्यका प्रिय नाति थिए । श्रीकृष्णका छोराहरू वा भानुभक्तका बाबुहरू छ भाइ थिए । आफू स्वयम् कवि रहेका पण्डित कविराज नरनाथ आचार्यले उनको प्रसिद्ध पुस्तक आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र मा यी छ भाइलाई यसरी उल्लेख गरेका छन् ।
जेठाको शुभ नाम् धनन्जय थियो श्रीकाशिनाथ् माहिला
साँहिला हुन पद्मनाभ तुलसीराम् जी थिया काँहिला
गङ्गादत्तजी ठाँहिला हुन अहो ज्योतिषी व्याकर्णी हुन्
कान्छा इन्द्रविलास खूब रकमी कम्ती रहन्थ्या र कुन् ?
बाबु धनन्जय घरबाट बाहिर जागिरमा भएकाले स्वयम् श्रीकृष्ण आचार्यले भानुभक्तलाई पढाए। हिसाब गर्दा १८७१ असार २९ मा जन्मेका भानुभक्तका हकमा यो त्यस्तै १८७६ देखि पछि लगभग १८८६ अर्थात भानुभक्त १५ वर्ष पूरा नहुँदा सम्मको कुरा हुनसक्छ, किनकि पाँच वर्षका उमेरदेखि पढाइन्थ्यो र सामन्यतया तीन वर्षका अवधिमा लेखपढ गर्न र अमरकोश, अष्टाध्यायी आदि पढेर आठ (८) वर्षका उमेरसम्ममा ब्रतबन्ध गरेपछि र लघुसिद्धान्त कौमुदी सिध्याउँदा साधारणतया अर्को छ वर्ष (उमेर १४वर्षसम्म) लाग्थ्यो। यस बीचमा उनलाई घरमा हुनत हजुरबाले नै पढाए होलान्, तर सधैँ त्यो अनुकूल भएन होला । माथिको श्लोकमा वर्णन गरिएजस्तै भानुका टाहिँला काका गङ्गादत्त अलिक पढालेखा भएकाले उनले जेठा दाजुका छोरा, भतिज भानुभक्तलाई अवश्य पढाए ।
अनि मात्र १४ काटेर १५ वर्षका हाराहारीमा पूर्वमध्यमाको अध्ययन गर्न काशी (वनारस) गए होलान् । भानुभक्तका हकमा पनि तिथिमितिमा केही तलमाथि भयो होला, तर यस्तै सिलसिला भएको हुन सक्छ । उनको अध्ययनलाई मध्यमासम्म मात्र बताइएको हुनाले पूर्वमध्यमाका दुई र मध्यमाका दुई गरी उनी लगभग चार वर्ष विशुद्ध अध्ययन र केही अघिपछि समेत गरी त्यस्तै छ वर्षसम्म काशी (वनारस) बसेका होलान् भन्ने अनुमान गर्न सकिन्छ ।
आजभोलि बोर्डिंङ् स्कुलका केटाकेटीले अङ्ग्रेजी माध्यमबाट पढाइ नहुने साधारण सरकारी स्कुलका केटाकेटीका अघिल्तिर अङ्ग्रेजी बोलेर फुर्ती देखाएजस्तै त थियो होला त्यतिबेलाको नेपाली र संस्कृतको सम्बन्ध । फरक कहाँनिर थियो भने भानुभक्त संस्कृत जान्दै नजान्ने थिएनन्, तर नेपाली अथवा भाषामै कविता लेखिनुपर्छ भन्ने पक्षका हिमायती थिए । अहिले बोर्डिंग स्कुलमा पढ्ने केटाकेटीलाई मातृभाषामा बोल्न नदिएर, र बोलेमा दण्ड दिएर कति अपमान गरिन्छ, सायद ठिक त्यस्तै भानुभक्तलाई पनि संस्कृतमा कविता लेखेन भनेर कति अपमान गरियो होला ? जिराहा रहेछन् भानुभक्त, कसैका कुरा टेरेनन् । आखिरमा “भाषा श्लोक“ स्थापित गरेरै छोडे ।
सामाजिक परिवर्तनका अभियन्ता भानुभक्त
अध्ययन गरेर फर्केपछि भानुभक्त घर गृहस्थीमा लागे। उनका हजुरबाको, बाको वा अन्य काकाहरूको जन्म, विवाह वा देहान्त कहिले भयो, मितिहरू ज्ञात पनि छैनन्, भएकाको प्रामाणिकता पनि सन्देहास्पद छ । साधारणतया इतिहासकारहरू सत्ताका मात्र इतिहास लेख्छन्, साहित्यकारको इतिहासतिर चासो नै राख्दैनन् । सायद यही कारण होला भाषा, साहित्य र संस्कृतिको इतिहास ओझेलमा परेको छ । बाबुराम आचार्यले केही लेखे, नयराज पन्त र उनका छोराहरू महेश, दिनेश अनि धनबज्र, ज्ञानमणि या थोरै जनकलाल, धर्मराज एवम् अल्लि बढी सत्यमोहन जोशी मात्रले धानेको हो नेपाली साहित्यिक र सांस्कृतिक इतिहास। वर्तमानका इतिहास विशेषज्ञलाई आग्रह छ सत्ता बाहिरका अन्य विभूतिका इतिहास पनि खोतल्नुहोस् । संस्कृति र साहित्यले विभिन्न समयमा लिएका मोडहरू पनि इतिहासमा ल्याउनु होस् ।
भानुभक्त कवि मात्र थिएनन् । अथवा, सर्वसाधारणलाई आकर्षित गर्न कविता लेखे, तर उनको उदेश्य समाजको परिवर्तन थियो । उनी एक सामाजिक अभियन्ता थिए । उनको मूल ग्रन्थ रामायण अध्यात्म रामायणको कथानकको नेपाली रूपान्तरण अवश्य हो । यो अनुवाद हो, भानुभक्त मौलिक कवि होइनन्, अनुवाद कवि मात्र हुन् भन्ने केही विद्वान् समालोचक पनि छन् । भानुभक्तले रामायणमा कथानकको सार अध्यात्म रामायणबाट लिएका हुन्, सन्देह छैन । तर सिर्जना भने उनको मौलिक हो। दुष्यन्त शकुन्तलाको पौराणिक कथानकमा महाकाव्य लेख्ने कालिदास के मौलिक महाकवि होइनन् ? त्यही कथानकमा अर्को महाकाव्य लेख्ने देवकोटा के अर्का उद्भट् महाकवि होइनन् ? पश्चिममा पनि इडिपस, प्रमिथस जस्ता इतिहासवा किम्बदन्ती आधारित काव्यपरम्परा छ, त्यसका सर्जक सम्मानितै छन्।
रामायणको पहिलो श्लोकको पहिलो पाउमै छ उनको मुख्य अभीष्ट, “लोकको गरूँ हित” भन्ने महावाक्य। यही लोकको गरूँ हित अर्थात जनताको हितका लागि मात्र काम गरूँ भन्नु नै लोकतन्त्रको मुख्य ध्येय हो, हुनुपर्छ। भानुभक्तलाई समाजमा भएका असङ्गति मेटाउने अभियन्ताका रूपमा लिन सकिन्छ । उनी एक्लै त्यतिबेलाको नागरिक सामाज थिए ।
उनका बाबु धनन्जय धन कमाउनका लागि नभएर प्रतिष्ठाका लागि मात्र जागिरे भएका थिए। पछि बिरामी भएर आएपछि उनको तनहुँतिर नै देहावसान भएको र उनका हरहिसाबका लागि बाबुको सम्पत्ति खाने उत्तराधिकारी भएका कारण भानुभक्तलाई कुमारीचोक अड्डाले समातेको थियो। केही समय (कति अवधि भन्ने खासै यकीन छैन) झ्यालखाना बसेपछि सबै प्रमाण बुझ्दा उनका बाबुले कुनै गफलत नगरेका हुनाले कुनै अन्य सजाय वा जरिवाना नतिराई उनलाई रिहा गरिएको पाइन्छ ।
तर भ्रष्टाचारविरोधी भानुले जेलमा बस्दा तत्कालीन शासकलाई म तिम्रा लामखुट्टे उपियाँ उडूससँगै छु, यिनको गीत पनि सुन्छु, नाँच पनि हेर्छु भनेर व्यङ्ग्य गरेका थिए । त्यत्ति मात्र नभएर तिम्रा डिट्ठा, विचारी (आजभोलिका न्यायाधीश जस्तै) सधैँ भोलिभोलिमात्र भन्छन् भनेर कवितामै गुनासो गरे । उनको त्यो “भोलि” आजसम्म पनि विभिन्न निहुँमा जनताको काम नगर्ने र त्यसबाट परोक्ष लाभ खोज्ने कर्मचारीका लागि व्यङ्ग्यसूचक भएकै छ ।
भानुभक्तले आफ्नो घरबारी, श्रीसम्पत्तिको रक्षा नगरी खेलेर र बिहिलिएर हिँडने केटाहरूका लागि अर्ति उपदेशका कविता पनि लेखे, जूवा खेल्दा कौडामा तीया, चौका, पन्जा, छक्का दाउ नचिन्नेका लागि पनि लेखे । अझ सानो बालखलाई भनेर मागेको बिर्के टोपी राम्रो लागेर उसलाई त्यो सानो भए, थोरै ठुलो अर्को पठाई देऊ भनी आफूलाई मिल्ने गरी मगाउने छट्टू साथीलाई पाठ पढाउने कविता पनि लेखे । मोही, मुलाका पनि कविता, नक्षत्र र राशिका पनि कविता, पारिवारिक विग्रह नहोस् भनेर पनि कविता, कुलो-पानी सन्धिसर्पनका पनि कविता लेखेर भानुभक्तले सामाजिक जागरणको बिगुल फुकेका हुन् ।
आलोचनात्मक कसीमा भानुभक्त
केही आलोचनात्मक पक्ष सबै साहित्यकारका बारेमा हुन्छन् भानुभक्त बारे पनि छन् । भानुभक्तले आफ्नो समयको समाजले देखेको, भोगेको र सोचेको कुरा लेखेका हुन् । जसरी हामी २०७८ मा उभिएर आगामी विसं २१५० को वा २२२५ को समाजबारे लेख्न सक्दैनौँ, त्यसै गरी भानुभक्तले विसं १८९० देखि १९२५ सम्मका समयमा लेखेका कविताले आजको समाज बोलेका छैनन् । तर त्यसअघि चर्चामै नआएका विषयवस्तुलाई साहित्यमा ल्याएर भानुले थप एक आयाम भने पक्कै दिएका हुन् । बधूशिक्षालाई सामाजिक र पारिवारिक मेलका निमित्त एउटा प्रयत्न थियो भनेर बुझिनु पर्छ । संसारमा एक्काइसौँ शताब्दीको यही दशकमा मात्र महिलालाई भोट खसाल्न, गाडी चलाउन वा रङ्गशालामा गएर खेल हेर्न दिने निर्णय लिएका देश पनि छन् । भानुभक्तका कविताको प्रसङ्ग भने १७५ वर्षपहिलेको समाजको प्रतिबिम्ब हो। उनले त्यति लेखेका कारण त्यतिबेलाको समाजमा महिलाको स्थान के रहेछ भन्ने बुझ्न आज सजिलो भएको छ। तर उनको अन्तिम लक्ष्य पारिवारिक विग्रह थिएन,मेल र सामाजिक रूपान्तरण थियो भन्नेमा अर्को मत हुन सक्दैन ।
निष्कर्ष
एक कविको मूल्याङ्कन समग्रतामा गरिनुपर्छ । रामायणमै पनि उनले कि कथाको वर्णन र कि धार्मिकता भन्दा सकारात्मक तरिकाले हृदयको रूपान्तरण गर्ने आध्यात्मिक पक्षलाई बढि उजिल्याएका छन् । धार्मिक अन्धोपनालाई धेरै प्रश्रय नदिएका कारण नै उनको रामायण सबै जातजाति तथा सम्प्रदायका समुदायमा प्रसिद्ध भएको हो । तर यी रचना उनका हतियार मात्र थिए, उनको लक्ष्य भने सामाजिक उत्थान थियो । रामायणको व्यापकतामा वनारस तथा दार्जिलिङ् र पूर्वोत्तर भारतको पनि योगदान छ । रामायणकै कारण जुनसुकै देशमा रहेका भए पनि नेपाली समुदायमा भाषिक एकरूपता र त्यसैका माध्यम सांस्कृतिक सामञ्जस्य समेत थप कायम भयो । आदिकवि हुन् उनी, त्यसमा शङ्का छैन, तर रामायण र अन्य कवितासमेतका रचयिता कवि मात्र भन्नुभन्दा कवितालाई माध्यम बनाएर समाजको नवनिर्माणमा योगदान दिएका समाज सुधारकका रूपमा समेत हेरिनु पर्छ।
(आचार्य स्थापित साहित्यकार हुन्। )
[email protected]