
अतितको त्यो मीठो दशैँ
रातोमाटो अनि कमेरो माटोले घर पोते पछि
आउने दशैं
झ्याल, ढोका अनि दलिनहरुलाई
ब्याट्री फुटाई निकालेको कार्बनले रंगाएपछि
आउने दशैं
खाल्डो खनेर केरालाई असुराको पातले छोपि ठीक्क पारेपछि
आउने दशैं
दर्जी दाइले आँगनीमा आएर घाँघर अनि सुरुवाल सिलाई ठिक्क पारीदिएपछि बिश्वकर्मा दाइले आँगनीमाआएर सम्पूर्ण हतियारलाई साँध लगाएपछि
हजुरआमा- आमाहरुले दुनाटपरी गाँसीठिक्क पारेपछि
बगैंचाभरी फूलेका र पाकेका फलफूलले बोलाएपछि
दर्जीदाइले सनई बजाएर बोलाएपछि मात्र
आउने दशैं
वल्लो पल्लो घरका साथीसंगीलाई आफ्नो नयाँलुगा देखाएपछि
आउने दशैं
हजरआमा- आमाहरूले च्युरा कुटी ठिक्क पारेपछि
आफुभन्दा ठूला काका, मामादाजुहरुले बाबीयो काटी पिङको लठ्ठा बाटेपछि पुरेतबाले जमरे कोठामा नौदिन चण्डीपाठ गरि सिध्याएपछि
टिकाको दिनदेखी पूर्णिमासम्म
सबै नाता सम्बन्धीका टिका लाईसके पछि
दक्षिणा गन्दागन्दा हात गल्ने त्यो दशैं !
खै त्यो दशैं ?
कता हरायो दशैं ?
कता हराए सनई बजाउने दर्जी दाइ ?
कता हरायो रातोमाटो र कमेरोमाटोले घर पोत्ने चलन ?
कता हरायो घाँघर अनि सुरुवाल लगाउने चलन ?
कता हराए साँध लगाउने बिश्वकर्मा दाइ ?
खै दशैंमा पाक्ने फलफूलहरू ?
कता गयो दुना टपरी गासीं राख्ने चलन ?
खै चण्डीपाठ गर्ने पुरेत बा ?
कहाँ हरायो त्यो बाल्यकालको दशैं ?
सम्झना आउँछ त्यो दशैंको !
आजकाल चाडपर्वहरूको महत्व हरायो
आधुनिकताले पखेंटा फिंजायो
भेदभावले हाङ्गा फैलायो
मेरो स्मृतीमा लुकेको त्यो मीठो बाल्यकालको दशैं
कता हरायो ? कता हरायो ?
अनिता ढुंगेल
कोलोराडो, अमेरिका