• २०८२ भाद्र २७, शुक्रबार

विश्व सिग्देलको‘तालीको समाजशास्त्र’माथि परिचर्चा सम्पन्न

काठमाडौं ।

कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’ माथि शुक्रबार ठमेलमा सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । परिचर्चामा बोल्दै श्यामलले विश्व सिग्देललाई अत्यन्त सम्भावना भएका कविको रूपमा प्रस्तुत गर्दै उहाँका कविताले उहाँ स्वयंको व्यक्तित्व निर्माण गरेको टिप्पणी गर्नुभयो । वर्तमान सन्दर्भमा पनि कृति उतिकै सान्दर्भिक रहेको भन्दै उहाँले सांस्कृतिक चेतनाको ह्रास र विकृत परिपाटी मञ्चबाट नै सुरु हुने धारणा व्यक्त गर्नुभयो । समयको मूल्यलाई नबुझ्ने कवि हुन नसक्ने र बिम्बको अत्यधिक प्रयोगले कविता जटिल बन्ने हुँदा कवि यसबाट जोगिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परिचर्चाकार आर.एम. डंगोलले ‘तालीको समाजशास्त्र’ मा समाजका जटिल यथार्थहरूलाई टिप्ने शक्तिशाली ४५ वटा कविता रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वलाई थोरै लेख्ने तर गहकिला कविता लेख्ने कविको रूपमा चिनाउँदै, कृतिमा विभिन्न तहका विकृति र विसङ्गतिलाई प्रष्टसँग उजागर गरिएको बताउनुभयो । उहाँका अनुसार, सिग्देलका कवितामा वैचारिक र बौद्धिक चेतना, सरल अभिव्यक्ति र गहन विषयवस्तुको संयोजन पाइन्छ।

अर्की चर्चाकार सुधा मैनालीले सिग्देलका कवितामा सामाजिक विषयवस्तुमा आधारित सालीन विद्रोह देखिने धारणा राख्नुभयो । उहाँले शीर्षकको औचित्य स्पष्ट पार्दै, २१औं शताब्दीको विकसित समाजको ‘ताली’लाई दासत्वको यात्राको रूपमा चित्रित गरिएको बताउनुभयो । उहाँका अनुसार कवितामा सामाजिक विकृति, विचलन र विसङ्गतिप्रति तीखा व्यङ्ग्य र गहन विचार समेटिएका छन्।

स्वयं कवि सिग्देलले कार्यक्रममा आफ्नो रचनालाई समीक्षा र सुझावमार्फत अझ सुदृढ बनाउन समीक्षक तथा सहभागीहरूलाई अनुरोध गर्दै, विचार र कलालाई संगसंगै अघि बढाए मात्र कविता कविताजस्तो बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्ले लगायतले पुस्तकबाट कविता वाचन गर्नुभएको थियो ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव प्रदीप सापकोटाले सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य पूर्णबहादुर श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रमको सह–आयोजकमा चिःवहाल परिवार, ठमेल र इखबर नेट मिडिया पार्टनरका रूपमा रहेको थियो ।