• २०८१ असोज २४ बिहीबार

डा. गौतमको कवितासङ्ग्रह लोकार्पण

काठमाडौँ/२४ फागुन २०७८

सोमबार आख्यानकार डा. ध्रुवचन्द्र गौतमको पहिलो कवितासङ्ग्रह ‘ह्यांगरमा झुन्डिएको आकाश’ विमोचन गरिएको छ । आइतबार धनगढीमा आयोजित सुदूरपश्चिम साहित्य महोत्सवको अवसरमा उक्त कवितासङ्ग्रहको विमोचन गरिएको हो ।

महोत्सवका अवसरमा कवि डा. गौतमले आफ्नो कवितासङ्ग्रहको पहिलो प्रति सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीलाई हस्तान्तरण गरेका थिए । ‘आख्यानकार भनेर चिनिएका ध्रुवचन्द्र गौतमको आजभन्दा झन्डै छ दशक अघिका कविताहरूको सङ्ग्रह धनगढीसम्म आएको छ, यो सुखद कुरा हो,’ अध्यक्ष जोशीले भने ।

‘मैले २०२१ सालमा यो कविताको पाण्डुलिपि छाप्नका लागि जगदम्बा प्रकाशनमा बुझाएको थिएँ, ५७ वर्षपछि पुस्तकाकार रूपमा आएको छ,’ कवि गौतमले भने- ‘अर्को घटना पनि यस्तै ऐतिहासिक छ । म २०२२ सालमा डकोटा प्लेन चढेर धनगढी आएको थिएँ, आज ५६ वर्षपछि फेरि धनगढीको आँगनमा आइपुगेको छु । ‘ह्याङ्रमा झुन्डिएको आकाश’ र धनगढी यसकारण मेरा लागि अविस्मरणीय बनेका छन् ।’