समाचार
 
								 
							झापा ।
उपन्यासकार खगिन्द्रा खुसीको ‘खुशीको गाउँ’ उपन्यास पाठकमाझ आएको छ । झापाको खुदुनाबारी शिविर कैदले पार्कमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको स्थान कृतिमा वर्णन गरिएको स्थान नै हो ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुली, विशेष अतिथि प्राज्ञ सुमित्रा वाङदेल चेली, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र कार्यक्रमका सभापति साहित्यकार विवश बलीभद्र कोइरालाले कृति सार्वजनिक गरेका थिए । ‘खुशीको गाउँ’ भुटानी शरणार्थीको जीवन संघर्षमा आधारित कथा बुनिएको उपन्यास हो । शरणार्थी शिविरमा रहँदा भुटानी शरणार्थीहरुले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवन पुनर्वासले ल्याएको परिवर्तन कृतिमा समेटिएको छ ।
शरणार्थीका रुपमा दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको छ । कार्यक्रममा समालोचक प्राज्ञ मुनाराज शेर्पा, प्रा. डा. गंगाप्रसाद अधिकारी र नमुना निरौलागायतले कृतिबारे चर्चा गरेका थिए । सामूहिक बिमर्शमा साहित्यकार गणेश निरौलाले सहरजीकरण गरेका थिए । विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) ले प्रकाशन गरेको यो उपन्यास २९७ पृष्ठमा सरल भाषाशैलीको प्रयोग गरी लेखिएको छ । यसअघि विश्व भुटानी साहित्यिक संगठनले एक महिनाअघि नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा यो कृति सार्वजनिक गरिएको थियो ।
