• २०८२ आश्विन २२, बुधबार

आमा धरती बाबु आकाश’ कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौंँ ।

नेपाल वाङ्मय परिषद, धनगढी–कैलालीले काठमाडौँमा एक समारोहका बीच कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो । प्रारम्भमा अध्यक्ष डा. भट्टले परिषदका गतिविधि र कार्यक्रमका उद्देश्यबारे जानकारी गराउनुभएको थियो । समारोहमा साहित्यकार डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदान गरिएको थियो । सम्मानित स्रष्टाका जीवनी, कृतित्व र योगदानबारे शेखर अर्यालले समालोचनात्मक चर्चा गर्नुभएको थियो भने डा. भण्डारीले आफ्नो अनुभूति पनि साझा गर्नुभयो ।

सोही अवसरमा डा. पुष्करराज भट्टद्वारा रचित लघुकथा सङ्ग्रह ‘आमा धरती बाबु आकाश’ विमोचन गरिएको थियो । कृतिको समीक्षात्मक प्रस्तुति गर्दै डा. शेखरकुमार श्रेष्ठले कृतिमा संवेदना, संघर्ष र मानवीय पक्ष गहिरो रूपमा चित्रण गरिएको उल्लेख गर्नुभयो । समीक्षक श्रेष्ठले सामान्य कमजोरीहरू हुँदाहुँदै पनि कृति समग्रमा स्तरीय र पठनीय भएको धारणा राख्नुभयो ।

कार्यक्रममा दीपक लोहनी, नवराज रिजाल, डा. टीकाराम पोख्रेल, मातृका पोखरेललगायत स्रष्टाहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने विमोचित कृतिबाट लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाईं, प्रार्थना खनाल र शान्ता तिम्सिनाले कथा वाचन गर्नुभएको थियो । प्रमुख अतिथि शान्ता मानवीले राजनीतिक जीवनसँगै आफूले सधैं साहित्यलाई माया गर्दै आएको र साहित्यले समाज र राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।