साहित्यकार माधव वियोगीलाई श्रीलोचन साहित्य पुरस्कार प्रदान गरिने भएको छ । सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित सो पुरस्कार छन्दोबध्द कविताको पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा योगदान दिए बापत प्रदान गर्न लागिएको हो । घोषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् । छन्द बचाऊँ अभियानका नायक तथा महाकाव्य लेखन अभियानका समेत अभियन्ता रहेका उनले डेढ दर्जन पुरस्कार प्राप्त गरी सकेका छन् । छन्दनायक वियोगी विगत दिनमा धनगढीमा रहेर प्राध्यापन पेशामा संलग्न भई छन्दका कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरेली स्रष्टा वियोगी यसअघि धनगढीबाटै जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट विभूषित भएका थिए । छन्द विश्वविद्यालय स्थापनार्थ हाल सक्रिय रहेका वियोगीका ८ महाकाव्यसहित् ३४ कृति प्रकाशित छन् । उनी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख पनि हुन् ।