• २०८१ माघ १० बिहीबार

समयको दूरीमा

बसन्त चौधरी

बसन्त चौधरी

समयको यो दूरीमा
कहीँ टाढा नहोस् हाम्रो प्रेम
म तिमीलाई आँखा उघारेर
कल्पनाको घुम्टीभित्र लुकाउँदै
नजिक राख्न चाहन्छु
यो समयले ल्याएको फाटोलाई
हृदयले सिएर जोड्न चाहन्छु !

यतै बस आँखाभित्र
यतै बस हृदयभित्र
यो दूरी,
यो विवशता र बाध्यतालाई
टाढैबाट प्रेमले मेटाउन चाहन्छु !

हो प्रिय ! यो समय रुष्ट छ
हेर्न चाहँदैन मिलन
देख्न चाहँदैन खुसी
तथापि सक्दैन रोक्न
मनको मिलन !

भौतिक दूरीको यो मध्यमा
मुट दुख्नु र दुखिरहनु भए पनि
तिमी अक्षर बन्नु र म अर्थ बन्छु
तिमी आवाज बन्नु र म संवाद बन्छु
तिमी दूरी बन्नु, म समय बन्छु
तिमी सन्देश बन्नु, म संवाहक बन्छु

समयले ल्याएको दूरी
टाढै बसेर मेटाऔँ
कल्पनामै अङ्कमाल गरौँ
चित्रहरूमा संवाद गरौँ
एक–अर्कामा डुबेर
जितेर समय
कल्पनामै हामी
अनन्त–अनन्तसम्म हराऔँ
हो प्रिय !
समयले ल्याएको फाटोलाई
हृदयले सिएर जोड्न चाहन्छु
आऊ हामी नभेटीकनै
एक- अर्कामा हराउँदै
एक- अर्कामा रमाउँदै
यो दूरीको सौम्य विरोध गरौँ !

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)