• २०८१ फागुन ६ मङ्गलबार

चाहनामा

बसन्त चौधरी

बसन्त चौधरी

म बाँच्न चाहन्थेँ
कसैको चाहनामा
कथा अधुरो भए पनि
साँच्न चाहन्थेँ
हृदयको कुनामा

दिनमा जुनेली उर्लिन्थ्यो
रातमा घाम छचल्किन्थ्यो
क्या दिन थिए ती,
सल्किन्थ्यो बादलहरूमा आगो
म पनि सपना लिएर
हाँस्न चाहन्थेँ

तर कोही एक्कासि हरायो
मनमा शून्यता छायो
केही बुझ्नै सकिनँ
नियतिले के गरायो
म नियतिको क्रूरतालाई
भाँच्न चाहन्थेँ

सारा बाचा फुक्लिएछन्
आँसुमाथि उक्लिएछन्
जुन मुटुमा माया बस्थ्यो
धोकाहरू पो अग्लिएछन्
म भने किन अँध्यारोमा
हाँस्न चाहन्थेँ
किनभने
म कसैको चाहनामा
बाँच्न चाहन्थेँ ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)