• २०८२ कार्तिक १९, बुधबार

साम्यवाद !

धनराज गिरी

धनराज गिरी

बी के, जी के र टी के, तीन मित्रहरू, धरतीमा । बी के र जी के मनमौजी, धरतीमा, मानिसले, समाजले बनाएका सम्पूर्ण नियम कानून विधान रीतिरिवाजको विरुद्ध चले, बी के र जी के ! तर टी के, अति सज्जन ! मरे । एउटा कार दुर्घटनामा । “यी बदमासहरू नर्क जाने पक्का !“ टीकेको अनुमान । “म एक्लै बैकुण्ठतिर, कोही चिनेको पाइन्छ कि पाइन्न ?“ मरेपछि पनि पीर ।

पुगे यमपुरी । भव्य ! यमदूतले लिएर गयो एक खास कोठामा । चित्रगूप्तजी । अति उज्याला । “वाह, हाम्रो गुरु प्रोफेसर जगमोहन आजाद सुमेधाश्री त यहाँ पो !“ टी केले चित्रगुप्तमा आफ्नो गणित गुरु देख्यो । अर्का, यमराज धर्मराज, नेमप्लेटमा लेखिएको । “वाह, यमराज वा धर्मराज त हाम्रो झुवानीको “धनराज सर “ जस्तै । मन मानेन, सोध्यो,“ प्रभु, हजुरहरू जुम्ल्याहा हो ? हजुरहरू त मेरो गुरु …..“

“अरे मनुवा, त्यो मनुवा, त्यो प्रोफेसर, त्यो अजेय पात्र, स्वाभिमानी अस्तित्व हाम्रै अवतार हो । मान्छे भएर हामीले लीला गरेको हो । अनुहार मिल्यो ? ल ल, बस !“ यमराज ऊर्फ धर्मराज । “ल, यी तीनजनालाई कैलाशमा, साझा क्वाटर !“ चित्रगुप्तको परमादेश । यमराजको समर्थन । “प्रभु, एउटा प्रश्न गर्न सक्छु ?“ टीको “ मज्जाले !“ यमराज । “ प्रभु, यी दुईले धरतीमा अनेक पाप कर्म गरेका छन् । यिनीहरू त नर्कतिर जान लायक हुन् । किन प्रभु यहाँ पनि भ्रष्टाचार ? घुस खुवाए यिनले ?“ टी को “मरेपछि केको डर, उता पो मार्छन् कि भनेर बोल्न सकिएन । धनी फटाहाहरू !! “मनले सोच्यो ।

“टिमुर्के कान्छा, टीके, तिम्रो धरतीमा हो, हरेक कुरामा बन्देज, वर्जित, यहाँ त्यस्तो केही हुन्न । जे मन लाग्छ गर, सम्पूर्ण साम्यवाद ! धरतीमा विपिनमा, काननमा जस्तै ! यहाँ नातापाता केही हुन्न । विधान पनि छैन ! त्यो तिम्रो धरतीमा हो, धर्म, पाप, असल, खराब, नैतिक अनैतिक, यहाँ सबै सम्म, त्यो नर्क पनि काल्पनिक हो । यहाँ नर्क नै छैन । हाम्रो अवतार धनराज गिरीले पढाएपछि सबै पास भएजस्तै, यहाँ सबै बैकुण्ठ, सबै कैलाश, सबै इन्द्रलोक ।सबै समान ! यहाँ पैसा छैन । ईश्वर छैन । धर्म छैन । म पनि म होइन । एक कल्पना । यहाँ पूर्ण साम्यवाद, सम्पूर्ण साम्यवाद !! जाऊ, आराम गर ! जे मन लाग्छ गर ! “ धर्मराज । “ तैट, धरतीमा ऊल्लू बनिएछ । “टीकेको मनमा कुरा खेल्यो । मुस्कुराए जोर मित्रहरू, जी के र बी को अरू आत्माहरू पनि आए ।
सबै अजनवी ।


धनराज गिरी