• २०८२ आश्विन २३, बिहीबार

हराएको सहर

चेतन काफ्ले

चेतन काफ्ले

उ चढेको स्करपियो एका विहानै अमेरिकाबाट आएका छोरी, ज्वाई ,छोरो र घर्मपत्नीकासाथ राजधानीबाट आफ्नो जन्मस्थान पूर्व १ नं तिर हुइँकियो । पूर्वमा ज्याम्दी देखि पश्चिममा हिगुवा पाटीमा गएर टुङ्गिन्छ मण्डनको लमतन्न डाँडो । यो डाँडोमा उत्तर र दक्षिणमा गरी चारवटा गाउँ विकास अटाएका थिए कुनै बेला । पूर्वतिर गगटे खोल्छो हल्दे पिंगोला तामाङ बस्ती । पश्चिम तर्फ फलामे खोल्छो मानव शून्य खरबारी र पाटाहरू भएको चेप्टे नाकेडाँडो । बेसीँको चाखोला नदीदेखि भीरपाखा केही समथर हुदै चण्डेनी सुलिकोटको लेकसम्म फैलिएको । पूर्व पश्चिम भएर रहेको मण्डनको डाडाको आडमा सिरानी लगाएर दक्षिण मोहोडा भएर रहेको लमतन्न नाकेडाँडो ।

देखाउँदै सबैभन्दा माथि चण्डेनी भन्ज्यांङको दक्षिण तर्फको भिर मुनीको काखैमा मगर बस्ती । मगर गाउँ जाने दक्षिण उत्तर तेर्सो बाटो मुनी तराई झर्दा देवदाश कान्छा हजुरबाले ल्याएर हुर्काएको ठूलो बयरको बोट, सँगै थरिथरीका स्याहार नपुगेका फलफुलका बगैचा– घर छैन । अलि दक्षिणतर्फ बाटो मुन्तिर हर्क कुमार श्रेष्ठ, गाउँका चल्तापूर्जा पहिलाका गाउँ पञ्चायतका प्रधानपञ्च र खान्दानी परिवार पनि । संगै उन्कै भाई भतिजाहरूको घरबाट पूर्वतर्फ देखिने तामाङ बस्ती पिङगोला, भाटपोल हुँदै सिधै पलाञ्चोक भगवती मन्दिरतर्फ फर्किएको पटाङ्गिनी आँगन र डिलमुनी स्याहार नभएका अनेक थरिका फलफुल बगैचा छन् – घर छैनन् ।

दक्षिण पश्चिमतर्फ करिब सय मिटरको हाराहारीमा भिरको डिलैमा सयाँै वर्ष पुरानो समीको बोट इतिहास बोकेर बसेको छ । सितल ताप्ने बटुवा र छिमेकि छैनन् । चौतारीमा भएका ठूला ठूला ढुंगामा कोरियका बाघचाल खेल्ने बोर्डको डोब छ, बाघचाल खेल्ने मान्छे छैन । धुलिखेलबाट चौतारा अड्डासार गर्ने हुलाकी बाटो छ, अड्डासार छैन । अलि तल काले दमाईको घरको अवशेष खण्डहर मात्र बांकी छ । काले दमाइको अरुबेला भन्दा दशैँमा धेरै महत्व । कसको लुगा दशैमा छिटो सिलाएर लगाउने । उसलाई विगतको सम्झना आयो । एउटा दशैँमा उसको लुगा फुलपातीमा मात्र किनिएको र दशैको चपेटामा छिटो लुगा सिलाउन भरथ मामाले काटिदिएको दशैँको बोकाको आन्द्राभुँडी धोइ पखालिदिएर नयाँ लुगा त्यसैदिन सिलाएर लगाउन सफल भएकोमा ठूलै युद्ध जितेझँै कम्ता खुसी भएको हैन त्यसबेला । पचास वर्ष अघिको घटनाले रोमान्चित भयो ।

महादेव स्थान बारी र गैरी गाउँ । अवकास प्राप्त जनस्वास्थ्यकर्मी टेक बहादुरले सम्हालेका रहेछन् । भिर भरि सदाबहार पाक्ने भुईकटहरहरुको झ्याङ, ठूलो रुख कटहरको रुख खै कता गयो ? त्यहां न बस्नेत थिए, न खड्का छन्,न भिमसेन मामा छन् । न उसको नै बसोबास छ – गैरी गाउँमा । आमाले उसलाई पिठिउँमा बोकेर बारीमा स्याउला काट्न जाँदा चिप्लिएर कम्मरको हसियाले उसको घुँडामा काटेको रे । उसलाई सम्झना छैन । छ त केवल उसको दाहिने घुँडामाथिको तीन इन्च लामो धर्सो र आमाले भनेका शब्दहरू । वाल्यकालको धमिलो सम्झना आमासंगैको ।

भिमसेन मामा सबैको प्रिय पात्र । ज–जसको घरमा पुजापाठ हुंदा, मादी बाल्दा । सिलोक भन्दै खैजेडी बजाएर रात रातभर नाच्न सक्ने नायक उनै थिए । तर उनलाई त्यो कामकोलागि कोदाको तिनपाने भने अनिवार्य चाहिने । विडम्बना हल तिहारको रातभर खैजेडीको तालमा नाच्दै गाउदै सिलोक भन्दै देउसी खेलेर गाउँदेखि बेसीँ झरेका भिमसेन मामा, घर नपुग्दै चाखोला नदी किनारको सिमादह दारे ढुंगामा लडेर मृत्य भयो । उनकी दिदी भाइटिका लगाउन घरमै आइपुग्दा नपुग्दै भाईको मृत्युको दुखद खबर सुनेर बाटोमै कोसेली फालेर लडिबुडी गरेर रोएको घटनाको साक्षी थियो उ ।

माथिल्लो गाउँ, टायल घरे छैनन् । झिँगटी घरे छैनन् । गैराघरे छैनन् । ठूलो तिवारी छैनन् । टिमुरको बोट छैन । सिमलको बोट पनि छैन । भन्ज्यांङ मुनिको हरी दिदी र शम्भु दाईका घरहरू छैनन् । पोखरीको नामो निसान छैन । पोखरी वरीपरीका झुम्म घर छैनन् । पञ्चकन्या मन्दिरको अस्तित्त्व बांकी छ । रबरको बोट छ । भाद्र कृष्ण चर्तुदशी यानि गणेश चौथी । चौथी हान्ने दिनमा अल्लारे युवाहरूको टोलीको रातभर घरमा बास हुदैनथ्यो । काँक्राको बोटहुनेहरू रातभर नसुती पहरेदार गर्थे । काँक्रो चोर्ने, िढकी, जाँतो, घाँसका भारी राती चोरेर रबरको बोटमा झुण्ड्याउने । ढिकी जाँतोमा दिसा गरेर पिसेर छोडिदिने । ढोकामा बाहिरबाट ढिकी अडेस लागायर ठड्याएर राखिदिने । जस्ता उट्पट्याङ कार्य गरेर चौथी हान्ने (मान्ने) पात्रहरू कोही बितिसके, कोही बेसीँ झरे, कोही शहर पसे ।

माथि डाँडाको सिरानमा कोटस्थानमा रहेको उमा सह–शिक्षालयमा पढ्न जाँदा आउँदा बाटोमा चर्ने जिउँदा खसी बाख्राका कान काटेर पोलेर खाने धेरैजसो माथि उल्लेख पात्रहरू नै थिए । उसंगै सोही विद्यालयमा पढन जाने सहपाठी बिनोदले बारीका फर्सी कुभिण्डो भिरबाट गुल्याट्याएर रमाइलो मानेर हाँसेको कुरा रोमान्चित हुँदै सुनायो । माथिल्लो गाउँको अन्त र माझगाउँको सुरुमा रहेको भन्ज्यांङमा दशै तिहारमा लिङगे पिङ झुण्डयाउने बुढो पिपलको बोट इतिहास बोकेर सकी नसकी उभिएकै छ । डाँडाघरेको माहिलो छोरो पण्डितले तल सडकतिर घर सारेछ । छबिलाल छैन । विष्णु मास्टरको घर खण्डहर छ । सूर्य प्रसाद, मुरली, भकान्ते, ढुंगाना छैनन् । छ त केबल ढुंगानाको टक्क डाँडामा हवाई मैदान जस्तो बारीको पाटो छ ।

ढुंगाना बहुत रौसिया मान्छे । दशै तिहार आयो कि त लिङगे पिङ, रोटे पिङ, जाते पिङ,गट्टे पिङ बनाउन उनै अघि सर्ने । त्यो रौनक हेर्न र पिङ खेल्न उ बेसीबाट दशँै तिहार जस्ता चाडबाडमा गाऊ उक्लन्थ्यो । ढुंगानाले जाते,रोटे,गट्टे पिङ मच्चाउदा महिलाहरू फरियामै पिसाब छोड्थे रे ।
…………चन्द्र……


चेतन काफ्ले