समाचार

काठमाडौँ .
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा शनिबार आयोजित एक समारोहबीच प्रमुख अतिथि साहित्यकार तथा साहित्यिक पत्रकार महेश्वर शर्माले चार कृतिहरूको एक साथ लोकार्पण गर्नुभयो । प्रतिष्ठानका सल्लाहकार अर्जुन विरक्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्माले ठाकुर शर्मा भण्डारीको समालोचनासङ्ग्रह ’समदृष्टि’, युवराज मैनालीको समालोचनासङ्ग्रह ’केही प्रतिभा केही प्रवृत्ति’, रामप्रसाद पन्तद्वारा सम्पादित कृति ’समालोचनामा ठाकुर शर्मा भण्डारी’ र ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित कृति ’संवार्तामा रामप्रसाद पन्त’ को लोकार्पण गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नेपाली साहित्यका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । ’समदृष्टि’ रमेश विकल साहित्य प्रतिष्ठानबाट प्रकाशित कृति हो भने बाँकी तीन कृति दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित कृति हुन् ।
कार्यक्रममा ’केही प्रतिभा केही प्रवृत्ति’ बारे प्रा. डा. लेखप्रसाद निरौला, ’संवार्तामा रामप्रसाद पन्त’ बारे प्रा. डा. भागवत ढकाल, ’समालोचनामा ठाकुर शर्मा भण्डारी’ बारे कृष्ण प्रधान र ’समदृष्टि’ बारे प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कृतिकार रामप्रसाद पन्त, प्रतिष्ठानका संस्थापक तथा कृतिकार ठाकुर शर्मा भण्डारी र कृतिकार युवराज मैनालीले लेखकीय मन्तव्य समेत व्यक्त गर्दै कृतिप्रकाशन सन्दर्भबारे चर्चा गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका संस्थापक तथा महासचिव यादव भट्टराईको सहजीकरणमा सञ्चालित सो समारोहमा साहित्यकार तथा नेपाल सरकारका पूर्व सचिव गोपी मैनाली, साहित्यकार भागिरथी श्रेष्ठ, नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, चेतना संरक्षण साहित्य प्रतिष्ठान विराटनगरकी अध्यक्ष गङ्गा सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकार्पित कृतिका स्रष्टाहरूलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रमका सभापति अर्जुन विरक्तिले दायित्व वाङ्मय प्रतिष्ठानको साहित्यिक यात्राबारे चर्चा गर्दै चार कृतिको लोकार्पण एकसाथ हुनु साहित्यकारहरूका लागि खुसीको कुरा भएको औँल्याउनुभयो । नेपाली साहित्यका विशिष्ट स्रष्टाहरूको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–८ स्थित दायित्व भवनमा सम्पन्न भएको थियो ।