• २०८१ श्रावाण ११ शुक्रबार

बेलगाम महिला

लोरना गुडिसन

लोरना गुडिसन

मैले जानीजानी एउटा दूरी बनाएको छु
ती बेलगाम महिला र मेरा बिचमा
किनकी तिनीमाथि छाप लागेको थियो
बदचलन हुनुको ।

सधैं ऊ मलाई लोभ्याउँदै बोलाउँछे
सँगै बसेर रक्सी पिउनका लागि
मादक रक्सी त्यो पनि माटाको ग्लासमा
त्यसपछि (दूब्ला पात्ला) अश्वेत पुरूषहरूका
फोस्रा बाचा अगाडि घुँडा टेकेर समर्पण गर्न ।

यस्तो पनि हुन्छ कतिचोटी
जब म राती छिटै बन्द गर्न खोज्छु ढोका
र मस्किन थाल्छु आफ्नो स्वच्छतामा
कि एउटा अर्को दिन पनि मैले
घोसे मुन्टो नलाई, उदास नभई बाँच्न सकेँ
त्यत्ति नै बेला ऊ आइपुग्छे
लालुपातेलाई मात गर्ने रातो पहिरनमा
बिरालाको आँखाजस्तो औंठीमा बाँधिएकोे
चाबीलाई अल्लारे तालले घुमाउँदै
र मलाई लोभ्याउँदो स्वरले बोलाउँछे
आऊ घरबाट बाहिर निस्क
जाऔं कतै मस्ती गर्न ।

अनुवाद: राजेन्द्र शलभ