• २०८१ असोज २४ बिहीबार

चन्द्रमा र बादलजस्तो

बसन्त चौधरी

बसन्त चौधरी

मलाई कस्तो कस्तो लाग्छ
जब तिमी आफ्नो केशलाई
पिठ्यूभरि
छरेर बसेकी हुन्छ्यौ ।

लाग्छ,
आकाशमा बादल लागेको छ
तिम्रो अनुहारभरि
फिजिएको आभा देख्दा

जब तिमी लजालु हुदै
धर्ती हेर्दै,
मलाई नहेर्ने बहानामा
आखा उचाल्छ्यौ
लाग्छ,
तिम्रो आतुरता मलाई अङ्कमाल गर्न
आतुर छ
तर तिम्रो सङ्कोचले
तिमीलाई,
चारैतिरबाट छेक्दै छ ।

त्यही सङ्कोचले
जब तिमी मौन हुन्छ्यौ
आफ्ना दुवै हत्केलाले
आखाहरू छोप्छ्यौ
त्यो दृश्य मलाई
चन्द्रमा र बादल जस्तो लाग्छ ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)