समाचार

१
साम्राज्ञी ! स्वर कोइली हजुरको, बिच्क्यो हरायो कहाँ ?
सारा स्वप्न बिते समान बनें, चुँड्दा सबै योजना
गल्ती हुन्छ नजानिने किसिमले बक्सिन्न माफी तर
साँच्चै मर्दछु लाग्न थाल्छ सजिलै, झन् श्राप लाग्ने डर
२
उत्साही म थिएँ सबै तरहले, सामिप्य चोखो थियो
हो मर्माहत पो भएँ हजुरले फुक्दा निभेको दियो
विन्ती गर्छु विनम्र आज मनले सौभाग्य सञ्जीवनी
कुल्ची प्राण गयो अहा ! हजुरले चल्दै छ मुर्दा बनी
३
सारै बिघ्न अनिष्टको डर भयो बन्दै गएँ श्रापित
आँखा बग्न गए, म अश्रु जलले, बन्दै गएँ प्लावित
चोखो प्रेम थियो, कुनै समयमा, गर्दै छु विज्ञापित
यद्वा गर्न तयार बन्नु सजिलै होस् यो पुनःस्थापित
४
जिम्दै पोल्न हुँदैन मानव भनी, बक्स्योस् कि माफी अब
सारा लुट्नु भयो कठोर मनले सच्चा सफा गौरव
साँच्चै भन्न हुँदैन भन्दिन कतै, होस् मध्यमार्गी कुरा
फिर्ता बक्सनु श्राप होस् हजुरले, उम्रोस् नयाँ आँकुरा
५
मालामाल बनोस् सबै हजुरको, देखेर हाँस्ने मन
मर्जी हुन्छ जसो सबै हजुरले सुन्ने छ मेरो मन
कित्ताकाट भएन समान किन हो, साम्राज्यलक्ष्मी पर ?
बक्योस् श्राप अझै सबै किसिमले, इच्छा रहोस् जर्जर
(शार्दूलविक्रीडित छन्द)
चन्द्रमणि अधिकारी तनहुँ, गण्डकी, नेपाल ।
[email protected]