• २०८२ भाद्र २७, शुक्रबार

नेपालमै पहिलो मुक्तक गायन कार्यक्रम सम्पन्न

काठमाडौँ ।

साउने गर्मीले राजधानी तातेको समयमा दिउँसो २ बजे अनामनगरस्थित डालो रेष्टुरेन्टमा साहित्यिक गर्मी थपिएको थियो । घडीले दुई बजेर १० मिनेट देखाउनासाथ उद्घोषक गणेश खतिवडाले १० मिनेट ढिलो भएकामा माफी माग्दै कार्यक्रम सुरु गरे । सन्दर्भ थियो दियालो साहित्य सरगमले आयोजना गरेको मुक्तक प्रधान कार्यक्रम “वाह! यस्तो पो मुक्तक !” को ।

प्राथमिककालीन कवि गुमानी पन्तको मुक्तकबाट उद्घोषण सुरु हुनासाथ माहोल एकदम शान्त बन्यो । वैदिक र पौराणिक कालदेखि मुक्तकको जरा समातेर तथ्यसहित आएका कुराहरूले तिलस्मी स्वाद दिँदै थियो । मुक्तकलाई बद्धलयमा लेख्नुपर्ने जिकिर उद्घोषकले गरिरहँदा तथ्यहरूले साथ दिइरहेको थिए । यसैबिचमा राखियो संस्कृत साहित्यका गहिरा मुक्तक र तिनीहरूको नेपाली अनुवाद ।महाराज भतृहरिका तीनवटा सतकबाट एक–एकवटा मुक्तक छनौटमा परेका थिए। त्यसलाई कवि गोमा रेग्मी पण्डितले सुललित लयमा मीठो स्वरमा वाचन गरिन् ।

श्रोता÷दर्शकको एक आपसमा कानेखुसी थिएन । उनीहरू कहिले हाँस्थे, कहिले ताली पिट्थे त कहिले गम्भिर बन्थे । उनीहरूको मुखबाट बेला–बेलामा “वाह !” शब्द फुस्किन्थ्यो । दियालो साहित्य सरगमले नेपालमै पहिलो पटक छन्द/बहरमा रचना गरिएका मुक्तकको लयबद्ध वाचन र गायन प्रस्तुत गरेको थियो । दमदार मुक्तक लिएर वाचनका लागि चारजना मुक्तककार तयारी अवस्थामा थिए भने मुक्तक गायनका लागि विश्व कीर्तिमान बनाइसकेका कीर्तिमानी सङ्गितकार तथा गायक सन्तोष श्रेष्ठ उनका बाद्यवादक साथीहरू तबलामा रमेश डङ्गोल र बाँसुरीमा डम्बर खड्काथोकी तम्तयार थिए ।

वयोवृद्ध साहित्यकार कोषराज न्यौपानेले एउटा आफ्नै मुक्तक वाचन गरेपछि वाचनको ढोका खुल्यो । वजनदार मुक्तक र सुललित वाचन लिएर सविता बराल अगाडि सरेपछि माहोल थप रोमाञ्चित बन्यो ।

यहाँ फूलको धारले काट्छ मान्छे
पुगे शक्तिमा लाशले ढाँट्छ मान्छे
किनिन्छन् यहीँ भावना , प्रेम , नाता
मिले भाउ आफन्त नै साट्छ मान्छे ।।

फेरि अगाडि आए रत्नविरही घिमिरे । माहोल तातिरहेकै थियो । सेलाउने भन्दा अझ तात्ने तरखरमा देखिए दर्शक ।

विश्वासको खडेरी जात्रा रहेछ हाम्रो
सद्भाव औषधीको मात्रा रहेछ हाम्रो
दौडिन्छ व्यर्थ मान्छे ताकेर अन्तरिक्ष
खाली चिहान भेट्ने यात्रा रहेछ हाम्रो !

साहित्यको शक्ति कस्तो हुन्छ भन्ने दृश्य हेर्न त्यहाँ पुग्नुपथ्र्यो होला । छन्दका मुक्तकको लयबद्ध नशा लागिरहेको थियो दर्शक/श्रोतालाई । सृजना सरोवर र राधा कणेलका मुक्तक उसरी नै खाँदिएर आएपछि अघाउनुको सट्टा अझ प्यास बढ्दै थियो ।

बिना धागो उड्यो चंगा उडाएको तिमीले हो
उडेको के थियो झट्टै खसाएको तिमीले हो
म लड्दा बेस्सरी हास्यौ तिमी लड्दा म हाँस्दै छु
र, यो यस्तै चलन् चल्ती बसाएको तिमीले हो ।

राधा कणेलले भारतीय चर्चित कवि कुमार विश्वासको लयमा यसरी मुक्तक सुनाएपछि मुक्तक वाचन समाप्त भएको थियो तर दर्शक/श्रोताको धीत अझै मरेको थिएन । कार्यक्रमका मुख्य आकर्षण थिए सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ । उनले शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३/३ वटा मुक्तक गाएका थिए । नेपालमा मुक्तक गायनको पहिलो कार्यक्रम भएको हुँदा उनले यस कार्यक्रमका लागि अलि बढी नै मेहनत गरेका थिए । सन्तोष श्रेष्ठले मुक्तक गाइरहँदा दर्षक÷श्रोताको अनुहार मुक्तकको रस अनुसार नै फेरिएको प्रष्टै देखिन्थ्यो ।

नरोऊ पियारी रुँदा दाग लाग्छ
र उत्ताउलीझैँ हुँदा दाग लाग्छ
उनी चन्द्रझैँ स्निग्ध कञ्चन सफा छिन्
नछोऊ कसैले छुँदा दाग लाग्छ
– गणेशप्रसाद खतिवडा

यता आफ्नो समस्याले नगाँजेको दिनै छैन
छिमेकीले गरी गिल्ला नहाँसेको दिनै छैन
उनी बस्छिन् गरी च्याटिङ हबेलीको अटालीमा
रुँदै मैले जुठाभाँडा नमाझेको दिनै छैन
– शिवराम खड्का

समाऊ दह्रो प्रेमका आज हात
जमाऊ नरम ज्यानमा राजकाज
म रोऊँ कराऊँ कतै भित्र डुब्दै
चलोस् हुन्डरी प्रेमको बस्तीमाझ
– शान्ति शर्मा

मुक्तकहरू सुन्दै गर्दा प्रायः सबैका हातमा मोबाइल ठडिएका थिए । कार्यक्रम संयोजक शिवराम खड्का यता खिचौँ कि उता भनेझैँ हतारिएका थिए । थोरै समय छुट्याएर एकैछिनका लागि कार्यक्रम हेर्न आएकाहरूले आफ्नो जरुरी काम नै भुले । कार्यक्रममा न कसैलाई हतारो थियो न अनावश्यक हल्लाखल्ला ।

प्रमुख अतिथि प्रा. डा. देवी नेपालले दियालो साहित्य सरगमले अत्यन्तै नयाँ र मौलिक कार्यक्रम गरेको भन्दै वि. सं. १८१८ मा रमेश मल्लले लेखेको मुक्तकलाई नेपाली भाषाको पहिलो मुक्तक भनेर वाचन गर्दा गड्गडाहट तालीले समर्थन गरिएको थियो । उहाँले दियालो साहित्य सरगमले ऐतिहासिक काम गरेको र यो कुरा इतिहासमा सुनौलो अक्षरले लेखिने टिप्पणी गर्नुभएको थियो ।

दियालो साहित्य सरगमका कोषाध्यक्ष प्रकाश बस्नेतको स्वागत मन्तव्यदेखि अध्यक्ष शान्ति शर्माको धन्यवाद मन्तव्यसम्म सबै कार्यक्रममा दर्शक/श्रोताको उत्तिकै सहभागिता थियो । कार्यक्रममा अग्रजदेखि समकालीन पुस्तासम्मका विभिन्न चर्चित कविका मुक्तकहरूसमेत वाचन गरिएको थियो ।