• २०८१ श्रावाण ११ शुक्रबार

छुटिनु

दीप दर्पण

दीप दर्पण

तिमी संगै महसुस गरेका
थोपा थोपा खुसि
तिमि संगैं गुजारेका
एक एकपल
एक एक गरि संझन मन छ

तिम्रो र मेरो छाँया यसरी कहिल्यै संगै हुने छैनन् अब
यो हावाले तिम्रो सुगन्ध बोकेर
कहिल्यै ठोकाउने छैन मेरो नाकमा
मेरा पदचापहरू एक्लै यात्रामा निक्लि हिड्नेछन्
अनिश्चित यात्राका लागि
एकैछिन त नजिकै उभिएर जाउ

छुटिनु टा…..ढा हुनु हैन रहेछ
स्मृतिका किलाहरू गहिरो गरि
मुटुको बिचमा गाड्नु रहेछ
यादको धारिलो करौंतिले
कलेजोको कुना रेट्नु रहेछ

कैयौं रातहरू एक्लै निदाउनु पर्नेछ
कयौ विहानहरू एक्लै मुस्कुराउनु पर्ने छ
हाम्रा आँखाहरूबाट झर्ने आँसुका दानाहरूले
पाउने छैनन् पुछ्ने हातहरू
एक्लै एक्लै रूनु छ कयौं साँझहरूमा
आउ एकैछिन नजिकै बसेर रोऔं

यो जन्म एक्लै सकाउन
जीवन भरका लागि उर्जा भरिने गरि
तिम्रो नजिकै बसेर
गहिरो ध्यानमा लिनहुन मन छ
आउ एकछिन नजिकै वस

धैर पल्ट बल गरेर भित्रबाट
खुसि भएको बहाना गर्नुपर्नेछ
साना साना कुराहरूले खुसि दिने छैनन् अव
ओठहरू मुस्काउन पुरै जीवन खर्चनु पर्नेछ
आउ अलिकत मुस्कुराएर जाउ
फेरि कहिल्यै नभेटिने गरि
छुट्नु अघि
भेटिएका छौं हामी


दीप दर्पण
[email protected]