• २०८२ आश्विन ६, सोमबार

सृष्टिको सिम्फोनी

दीपक चौलागाईं

दीपक चौलागाईं

गितारको तारमा औँला चलाउँदा,
तारबाट
ध्वनि मात्र निसृत हुँदैन-
सँगसँगै झङ्कृत हुन्छन्
भित्री तहका सूक्ष्म सन्देशहरू पनि ।

आवृत्तिका तरङ्गहरू
हावामा मात्र होइन,
कण–कणमा समाहित हुन्छन्-
आवाज
केवल ध्वनि होइन,
एक कम्पन हो-
एक क्वान्टम सञ्चार।

हर्मोनिक तरङ्गहरू
स्ट्रिङ थ्योरीका सूक्ष्म तन्तुजस्तै
स्पेसटाइमको लुप्त क्यानभासमा
आ(आफ्नै तालमा कम्पन गरिरहेका हुन्छन् ।

प्रत्येक नोट,
एउटा सम्भावित अवस्थाको
प्रकट स्वर हो-
जहाँ कुनै पनि धुन
एउटै समयमा
अनेकौं रंगहरूमा फुल्न सक्छ—
जसरी इलेक्ट्रोन
असंख्य सम्भावनामा
एकैचोटि फैलिएको हुन्छ।
जस्तो कि फोटोन
कण र तरङ्गमा
सँगसँगै
सम्भावनाको जादु देखाइरहेको हुन्छ ।

र धुनहरू
मेजर र माइनरबीच
निरन्तर रूपान्तरण हुँदै
अन्ततः विलीन हुन्छन्-
अखिल ब्रह्माण्डको
एकीकृत महा- सङ्गीतमा।

त्यसै क्षण
सुर, लय र ताल
स्वतः व्यवस्थित हुन्छन्-
मानौं हाइजनवर्गको अनिश्चितता पनि
क्षणभरका लागि
शान्त भएर एक लयमा बाँधिन्छ ।

आफ्नै संगीतले मन्त्रमुग्ध,
नटराज एटमहरू
अस्तित्वको तान्डव नाचमा
स्वयं नृत्यमग्न हुँदै-
सिङ्गो ब्रह्माण्डको
सिम्फोनीमा समाहित हुन्छन् ।

हामी बाँचिरहेका छौं
एक यस्तो ब्रह्माण्डमा,
जहाँ
सृष्टि स्वयं गुञ्जायमान धुन हो-
र प्रत्येक कम्पन,
प्रत्येक नोट-
अनन्त सम्भावनाको प्रतिध्वनि !!


दीपक चौलागाईं