कविता

आफूलाई प्रिय लाग्छ
मूल्यवान छ,
अर्काको आँखामा सस्तो तर
मेरा लागि अमूल्य छ
म त मुस्काएँ
उदास साँझमा
तिमीलाई सम्झेर
तिमी त गयौ
चहकिलो दिनमा
चिनो नछोडेर
यो जीवन के भन्ने ?
आकाशजस्तो कि
ताराजस्तो कि ?
हातहरू सलबलाउँछन्
अङ्कमाल गर्न
तर तिमी हिँडिदियौ
यता रित्तो मन फाल्दै
कसैको मुटु भर्न
जीवन त के रहेछ ?
गन्ती छैन,
यसले मौन भएर सहेछ ?
जीवनमै यो जीवन
के–के पो भएछ ?
तिमीलाई नबुझेर
खुल्न सकिनँ सायद
तिम्रो हर इसारामा
डुब्न सकिनँ सायद
तिम्रो मायावी पिङमा
झुल्न सकिनँ सायद
तर जति गर्दा पनि तिमीलाई
भुल्न सक्दिनँ सायद
त्यसैले यो प्रश्न उठ्छ
जीवन कस्तो रहेछ ?
मायाको भोक लाग्नुजस्तो रहेछ
मायालाई समेत,
रोग लाग्नुजस्तो रहेछ
अन्त्यमा नियाल्दा त
जीवन केवल तिमीजस्तो रहेछ
केवल तिमीजस्तो रहेछ
बाहिर मुस्कुराहट
भित्र धोका छ
बाहिर केही नरम, मिलेको
भित्र फोकाफोका छ
तिमी र जीवनमा
कुन जोखिम बढी छ
तिमी रिसाइदिन्छ्यौ
त्यसकारण,
अहिले यो भन्न मलाई रोक्का छ
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)