• २०८२ आश्विन २३, बिहीबार

अनेसास न्यूह्यामसायर च्याप्टरद्वारा भानुजयन्ती समारोह तथा काव्यसंग्रह विमोचन

न्यूह्यामसायर ।

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूह्यामसायर च्याप्टरले विशेष कार्यक्रमको आयोजना गरेको छ। अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष गोवध्र्दन पूजा तथा निवर्तमान महासचिव विमला निरौलाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि ईश्वरी भट्टको अनवरत प्रयासहरू काव्य संग्रह विमोचन गरिएको छ।

कार्यक्रमको प्रारम्भ भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गर्दै गरिएको थियो । त्यसपछि साहित्यकार रामचन्द्र भण्डारीले विमोचित काव्य संग्रह अनवरत प्रयासहरू को विश्लेषण गर्दै भट्टका कविताका विषयवस्तु र शैलीबारे प्रकाश पार्नुभएको थियो । उहाँले भट्टका काव्यलाई आजको परिवेशसँग जोडिँदै सामाजिक यथार्थ झल्काउने सशक्त माध्यम भएको बताउनुभयो ।

सो अवसरमा अनेसास केन्द्रका निवर्तमान महासचिव विमला निरौलालाई दोसल्ला र प्रमाण–पत्रले सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै विमला निरौलाले आदिकवि भानुभक्त आचार्यको जीवनी र उहाँको साहित्यिक योगदानबारे आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँले नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा अनेसासले खेलेको भूमिकालाई विशेष महत्व दिँदै अझ व्यापक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गोवध्र्दन पूजाले विमोचित कृति ‘अनवरत’ प्रयासहरू का सर्जक कवि ईश्वरी भट्टलाई बधाई दिंदै अनेसास न्यूह्यामसायर च्याप्टरले निरन्तर साहित्यिक गतिविधि गर्दै आएकोमा प्रशंसा गर्नुभएको थियो । उहाँले सन् २०१८ मा च्याप्टर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै अब अनेसास विश्व साहित्य सम्मेलनको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए र आफू सघाउन तयार रहेको बताउनुभयो ।

मुख्य अतिथि लालगोपाल सुवेदीले कवि ईश्वरी भट्टलाई निरन्तर साहित्य साधनाका लागि धन्यवाद दिँदै भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पु¥याएको ऐतिहासिक योगदानलाई स्मरण गर्नुभयो । उहाँले नेपाली भाषा मात्र होइन, संस्कृति र सभ्यताको समेत संरक्षणमा भानुभक्तको योगदान अमूल्य रहेको बताउनुभयो ।

कार्यक्रममा कवि ईश्वरी भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, हरिकुमारी गुरूड, विजया सिंखडा, अनिल संग्रौला, गायत्री पौड्याल र अग्नी पराजुलीले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । उहाँहरूले भानुभक्तको योगदान, समाजको यथार्थ र आफ्ना व्यक्तिगत अनुभूतिहरूलाई शब्दमा उतार्नुभएको थियो ।

कार्यक्रममा एनआरएन अभियन्ता तथा हुक्सेट टाउन अर्थ समिति सदस्य क्षत्रकुमारी गुरूड, मैया ढुंगाना, मोहन निरौला, रमेश श्रेष्ठ, निगम रिमाल, मोहन गिरी, प्रतीक भट्ट, मरिया अग्लिवोटलगायतका नेपाली समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रमको अन्त्यमा च्याप्टरकी अध्यक्ष तथा सभापति हरिमाया अधिकारीले चन्दादाता, खानपिन, सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै कार्यक्रमलाई सफल बनाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत र सञ्चालन च्याप्टरका महासचिव नविन शर्माले गर्नुभएको थियो ।

यस कार्यक्रमले अमेरिकामा रहेका नेपाली समुदायमा साहित्यिक चेतना र एकताको सन्देश फैलाएको छ भने नेपाली भाषा र संस्कृतिको संरक्षणमा अनेसासको भूमिका अझ सशक्त हुने विश्वास गरिएको छ।