कविता
![](https://aksharang.com/wp-content/uploads/2021/08/TUESDAY_SEPTEMBER_01-02.jpg)
घरमा अनुशासनको मूल खम्बा
आमाको सपनाको मियो
र
सृष्टिको बगैंचामा संस्कारको बोट हुन् “बा”
घाम हुन् “बा”
र त जीवनको सलेदो सल्काउदै
घरलाई उज्यालो बनाउँछन्
छोरी जन्मिदा
मुन्टो फर्काउने समाजमा
छोरी लक्ष्मीको रूप हो भन्दै
सामाजिक शिक्षा दिने पाठशाला हुन् मेरा “बा”
“बा” ले नै हुन् पहिलोपटक
कलिला हातका औँला समाएर
कालोपाटीमा “क” लेख्न सिकाएका
आफ्नो काँधमा चढाएर
छोरा र छोरी बिचको
समानताको क्षितिज देखाएका
वंश धान्ने छोरा नै हो भन्ने अन्धविश्वासमा
कैयौँ गर्भे छोरीको बलिदान चढाउने
पिताहरूलाई
आमाको कोख र ममताको
पाठ सिकाउने गुरू हुन् मेरा “बा”
भ्रुणको प्रिय बासस्थान पाठेघरमा
आधुनिक उपकरण चलाउदै
गर्भपतन गराउने हातहरूलाई
खबरदारीको अक्षर छाप्ने
छापाखाना हुन् मेरा “बा”
परिवारको भोक मेट्न “बा”
हलीबने, भरिया बने, ज्यामी बने
समय अनुसारको ओहोदामा अटे “बा”
त्यतिमात्र होइन, साहुको रिन तिर्न
मुग्लान पनि पसे “बा”
“बा” परिवारका मेरूदण्ड हुन्
जसको सहारामा सगरमाथा जस्तै
स्वाभिमानपूर्वक उभिन्छन् छोराछोरी
“बा“कथा, कविता र गीतहुन्
त्यसैले लेखिदै छ पूर्ण किताब
“बा”अनन्त आकाश हुन्
जसका छातीमा टेकेर
हाँसेका छन् जून-ताराहरू ।
(सुशिला खड्का (हसिना) चर्चित कवि हुन् ।)
[email protected]