समाचार

काठमाडौंँ ।
गीतकार डा. दामोदर रेग्मीद्वारा लिखित ‘गीतकारको कलम’ नामक इ–बुक सार्वजनिक गरिएको छ । पुस्तकमा लेखक रेग्मीका १० वटा समीक्षात्मक लेख, साहित्यकारहरूका दृष्टिकोण र विभिन्न चर्चित व्यक्तित्वहरूले लेख्नुभएको विचार समावेश छन् । गोविन्द कुइकेल, दिनेशराज महर्जन, अमर अधिकारीलगायतका लेखकहरूले डा. रेग्मीको सिर्जनशील यात्राबारे समीक्षात्मक लेख प्रस्तुत गर्नुभएको छ । पुस्तकमा सेलिब्रेटी कलाकारहरूले रुचाएका गीतकार डा. रेग्मीमाथि विशेष लेख, अन्तरवार्ता र व्यक्तिगत अनुभव पनि समेटिएको छ । ४० भन्दा बढी साहित्यकार, कलाकार तथा समीक्षकहरूले डा. रेग्मीका सिर्जनात्मक योगदान र व्यक्तित्वबारे लेखेका विविध लेखहरू पुस्तकमा समावेश छन् ।
डा. रेग्मीले पुस्तकलाई आफ्नो सिर्जनात्मक यात्राको प्रारम्भिक संग्रह भन्नुभएको छ, ”गीत लेखिन्छ कलमले, तर जीवन पाउँछ स्वर, संगीत र दृश्यमार्फत । यसैले गीतकारको कलम गीतकारको मात्र होइन, कलमलाई जीवन दिने सबैको हो ।” उहाँका गीतहरूमा आनन्द कार्की, आनि छोइङ डोल्मा, प्रताप दास, अनु चौधरी, मुरलीधर, सुरेश लामा, दीपा लामा, समीक्षा अधिकारी जस्ता लोकप्रिय गायक–गायिकाको स्वर रहेको छ भने किरण कडेल, डि.बी. लामा, कीर्ती न्यौपाने लगायतले संगीत दिनुभएको छ ।
म्युजिक भिडियोमा मिथिला शर्मा, दिपेन्द्र खत्री, सोनु ढुंगाना, रामहरि खड्का, सृष्टि खड्का, प्रभात पाल ठकुरी, अप्सना बलामी लगायतको अभिनय रहेको छ । निर्देशन सियोन श्रेष्ठ, नितिन चन्द, उत्तम श्रेष्ठ, सिसिर र कृष्णदेव रुपाखेतीले गर्नुभएको छ । डा. रेग्मीका अनुसार पुस्तक सिर्जनात्मक विचार, समाजका अनुभव, प्रेम, जीवनका विविध रंग र देशप्रेमका अभिव्यक्तिहरूको संगालो हो । उहाँले भन्नुभयो, “गीतकारको कलम केवल व्यक्तिगत साधना होइन, सामूहिक सृजनाको परिणाम हो । यो पुस्तक साँचो अर्थमा एक साहित्यिक संवादको प्लेटफर्म हो ।”