• २०७९ असोज १६ आइतबार

राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक

काठमाडौँ  ।

कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविताकृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र लेखक राजकुमार बानियाँलगायतले कृतिको विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए ।

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ताशासक प्रतिको होइन, आम मान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’

कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने त्यस्तो कृतिलाई आफूले सफल कृति ठान्ने भन्दै यो कृतिलाई उनले सफल कृतिको संज्ञा दिएका छन् ।शिखाबुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ‚ जसमा ५४ कविता संग्रहित छन् ।