समाचार
काठमाडौं ।
नेपाल स्रष्टा समाजले प्रदान गर्ने योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०७८ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०७८ सुकन्या वाइवा र भूपाल बस्नेतलाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेको प्रमुख आतिथ्यमा दुबै स्रष्टालाई सम्मान गरियो । वाइवाले नगद रु. २५ हजार एक सय एघार प्राप्त गरिन भने बस्नेतलाई नगद रु. ५१ हजार एक प्रदान गरियो ।
समारोहमा प्रमुख अतिथि घिमिरेले योगमायालाई ऐतिहासिक क्रान्तिकारी व्यक्तित्व भन्दै वर्तमान सन्दर्भमा समेत उनको योगदान सान्दर्भिक रहेको बताइन्। “महिला अधिकारका पक्षमा क्रियाशील रहँदै आएको मलाई योगमायाको जीवनले गहिरो प्रभाव पारेको छ,” उनले भनिन्, “हामी सबैले योगमायाको आदर्श आत्मसात् गर्न जरुरी छ।” कार्यक्रमका सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए। “उहाँको साहस, समर्पण र त्याग अनुकरणीय छ। आजको राजनीतिमा नेताहरूले योगमायाको जीवनपथ अध्ययन गरे मात्र पनि केही सुधार आउन सक्छ,” उनले टिप्पणी गरे ।
सम्मानित सुकन्या वाइवाले आफू सम्मानित हुँदा दिदी पारिजात पनि सम्मानित भएको अनुभूति व्यक्त गरिन्। “योगमाया सारा नेपालीको मनमा बसिसकिन्,” उनले भनिन्, “दिदी पारिजातले पनि योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी थिइन्।” भूपाल बस्नेतले भने योगमायाको समाधिस्थल र आफ्नो लामो अभियानको चर्चा गर्दै भोजपुरमा आश्रम स्थापना गर्ने तयारी रहेको जानकारी दिए। “पचास सालदेखि म योगमायाको अभियानमा झोला बोकेर लागिरहेकै हुँ,” उनले भने, “यो सम्मानले मलाई थप प्रेरणा दिएको छ ।”
पुरस्कार संस्थापक रेखा कंडेल, पवन आलोक र राजेश न्यौपाने तथा सह–आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले पनि योगमायाको बहुआयामिक योगदानको चर्चा गरे । डा. शान्तिमाया गिरीले सम्मानित व्यक्तित्वहरूको योगदानबारे चर्चा गरिन् भने समाजका उपाध्यक्ष डा. सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मधु पाठकले गरेका थिए ।
