• २०८२ असार १९ बिहीबार

तेह्रथुम आठराई गाउँपालिकाद्वारा साहित्यकार डीपी शर्मालाई सम्मान

आठराई ।

तेह्रथुम आठराई गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रीगुफामा भएको एक विशेष कार्यक्रमको अवसरमा साहित्यस्रष्टा सम्मानसँगै विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा लामो समयदेखि प्रगतिवादी साहित्य लेखनको चिन्तनधारामा अडिग भई कलम चलाउँदै आउनुभएका र पछिल्लो समय प्रगतिशील लेखक संघ नेपाल राष्ट्रिय परिषद् सदस्य तथा झापा जिल्ला इन्चार्जसमेतको कार्यभार सम्हाली अनवरत साहित्यका विभिन्न विधामा सफल कलम चलाएवापत् साहित्यकार डीपी शर्मालाई प्रलेस तेह्रथुमको तर्फ र चार पत्रिकाका अध्यक्षसहितको टोलीबाट प्रमाण-पत्र र दोसल्ला ओढाई पालिका अध्यक्ष दिलकुमार पाहिम र प्रलेस केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलालद्वारा संयुक्तरूपमा सम्मान गरिएको हो ।

सम्मानित स्रष्टा शर्मा मूलतः जीवनी साहित्यका अग्रणी, कवि, समालोचक र पूर्व शैक्षिक प्रशासक हुन् । उनी साहित्यमा समाजका अनुकरणीय व्यक्तित्वको आदर्शलाई समाज रुपान्तरण गर्ने धरोहरको रूपमा उतार्न पोख्त छन् भने कवितामा शब्दशक्तिको उचित बिम्बात्मक विन्यास गरी विकृतिविसङ्गतिप्रति व्यङ्ग्य गर्न रुचाउँछन् ।

प्रगतिशील लेखक संघ नेपाल, तेह्रथुमलगायत स्थानीय साहित्य समितिहरू तथा आठराई गाउँपालिकासमेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा तेह्रथुमको आठराई गाउँपालिका वडा नं. २ अन्तर्गत पर्यटकीय स्थल झााँक्रीगुफा परिसरमा नवनिर्मित आठराई पुस्तकालय भवनको गापा अध्यक्ष दिलकुमार पाहिमद्वारा उद्घाटनसँगै आठराई गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन हुँदै आएका चारवटा पत्रिकाहरूको पनि मञ्चासिन अतिथिवर्गबाट विधिवत लोकार्पण भएको हो । यसरी लोकार्पण हुने पत्रिकाहरूमा तेह्रथुम बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिको प्रणयन, साहित्य संगम आठराईको संगम सुधा, आठराई गाउँपालिकास्तरीय साहित्य सुदृढीकरण समितिको आठराई कोसेली र प्रलेस तेह्रथुमको लोकार्पण समेत गरिएको थियो । प्रलेस तेह्रथुमको समीक्षा चलनचन्द्र कन्दङ्वा, आठराई कोस्लीको अमृतबहादुर बुढाथोकी, संगम सुधाको गङ्गा निरौला र प्रणयनको डा. नन्द नेपालीले गरेका थिए । उक्त कार्यक्रममा केही रचनावाचनसमेत भएका थिए ।

विभिन्न चार पत्रिकाका चार अध्यक्षहरू – दयासागर ढुङ्गेल, राजन तिम्सिना , रविमान लम्जेल, र गणेश विमलीका अध्यक्षता, गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलाल , गाउँपालिकाका उपाध्यक्ष वलीराज इङनाम र तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पेष्टराज लामिछाने आदि विशिष्ट अतिथि रहेका थिए । अतिथि आशनग्रहण र खादार्पणपश्चात् विभिन्न तौरतरिकाबाट कतै तुल अनावरण त कतै तुलमा लेखिएका अक्षर पढेर कार्यक्रमको घुम्टी खोलिएको थियो ।