• २०८० असोज ७ आइतबार

बन्धन

बिनाथिङ तामाङ

बिनाथिङ तामाङ

राममाया, तिम्रो हातको चुराको छन्छन्
झुम्काको खिन्द्रिङ
जब प्रतिध्वनित हुन्छ
मभित्र हलचल पैदा गरिदिन्छ
निर्निमेष म बन्द गरिदिन्छु यि कानहरु
र उघारिदिन्छु आँखाहरु
एउटा नुतन दृश्यावलोकनलाई
बास्तबमा जब तिमी उद्धेलित हुन्छौ
तिम्रो खुट्टाको पाउजु बज्छन् छम्छम्
त्यो ध्वनि तिमीलाई लाग्न सक्छन् मधुरम्
तर मलाई लाग्छ बन्धन्
म सक्दिन बाँधिन
म नारी हुनुको सौभाग्य
साट्न सक्दिन ती आवाजसंग
जसले हरदम
चियो गरिरहन्छ मेरो
अनि मेरो भौतिक उपस्थितिको
झुटो बयान दिईरहन्छ
हरदम हरक्षण कैद गरिरहन्छ मलाई समाजको नजरमा

राममाया तिमीले अब बुझ्नुपर्छ
प्रेमबन्धन हैन उन्मुक्ति हो
यदि कसैले प्रेम गर्छ भने
उसले स्वीकार्नु पर्छ तिम्रो आजादी


तामाङ चर्चित साहित्यकार हुन् ।
[email protected]