• २०८१ माघ २ बुधबार

खुसीका टालाहरू

दीपक चौलागाई

दीपक चौलागाई

मेरो यात्रा
अस्ताचलबाट शुरू हुन्छ
र अस्ताचलमै अन्त्य हुन्छ ।

मेरो घाम
सिंहदरबारबाट उदाउँछ
तर झुपडीहरूमा अस्ताउँछ ।

आशा हराएको वस्तीमा
जूनकीरीको प्रकाश खोज्दै
दुखको पहाडजस्तो रात पार गर्नु छ ।

समयका
असंख्य बज्रपात झेलेर
स्पात बनेको मेरो मन
अचेल
यति पातलो भइसकेको छ
कि ससाना कुराले पनि चस्स छुन्छ ।

आँगनमा
सु्दूर भविष्य खेलिरहेको छ ।
भर्खरै पलाएका
उसका कलिला पालुवाहरू हेरेर
रमाइलो लाग्छ ।
उसको आँखामा इन्द्रेणी देख्दा
मेरा आँखा उज्यालो घामले भरिन्छ ।

उसको तोतेबोलीले
खुशीका तारहरु झंकृत हुन्छन् ।
उसको ओठमा फुलेको
मुस्कानको फूल देख्दा
मेरो अनुहारमा खुशीको वर्षा हुन्छ ।

भर्खरै खिचेका तस्बिरहरूलाई
परिमार्जन गरेर
तात्तातै सेयर गर्छु
परिचित वा अपरिचित मित्रहरूको
सकारात्मक प्रतिक्रिया हेर्छु
र मनमनै खुशी हुँदै
बुढी औंलाले उनीहरूलाई धन्यवाद दिन्छु ।

भित्रले पोष्ट गरेका पोष्टहरुमा
प्रतिक्रिया जनाउँदा
होसियार हुनुपर्छ
एउटै औंलाको प्रयोगले
नचिनेको साथी भेटाउन सक्छ,
बर्षाैंदेखिको सम्बन्ध मेटाउन सक्छ ।

सधैं सूचना पाटी निरीक्षण गर्छु ।
“वा !
भर्खरैको पोस्टले
पन्ध्रवटा बुढी औंलाको समर्थन पाइसकेछ !“

चेहरामा
पन्ध्रसय वाटको खुशी चम्किन्छ ।
खुशीका छालहरू
निराशाका बाँधहरू तोड्दै अघि बढ्छन् ।

“टिङरिङ–टिङरिङ,……”
मोबाइलको घन्टीले सचेत पार्छ ।
दायाँ फर्किन्छु,
खबर बाकस जाँच गर्छु,
फेरि बायाँ फर्किन्छु ।
तस्बिरमा अलिकति उज्यालो थप्छु ।

मनको खुत्रुकेमा
अलिअलि गर्दै
खुसीको उज्यालो भर्नुछ
आशाको दीयो बालेर
युगजस्तै लामो रात गुजार्नु छ ।

खुसीका ससाना टालाहरू जोडेर
पीडाको ठूलो भ्वाङ टाल्नु छ ।


(दीपक चौलागाई)