• २०८० फागुन २१ सोमबार

बा

स्नेह सायमी

स्नेह सायमी

बाले भोक चपाएर
जोगाइ राखेको पानी लाग्ने खेत
कुहिनो र कुम टालेको चोलो लगाएर आमाले
बाँकी राखेको बारीको पाटो
न धान उमार्न सकियो न साग फलाउन
न गोड्न सकियो वर्तमान
न जोड्न सकियो एक नयाँ साँघु
बांँझो राखेर आफ्नो माटो
जोतिरहें आफुलाई
बा ! मैले जोगाउन सकिनँ
तिम्रो युग जोगाउने इच्छा
साटिदिएँ एउटा चारपाङ्ग्रेसँग बारीको पाटो
र आयातित पेट्रोल खर्चेर जिउँदै
गइरहेछुं आफ्नो जिन्दगीको मलामी
एट्याच्ड बाथरूममा सावर लिएर
पखाली रहेछु हरेक दिन
तिमीले नदीमा स्नान गरेर
पुस्तान्तरण गरेको स्वाभिमानको मुहान
हातगोडा चलाउन किनेको छु
एक्सरसाइज एप ! र
यु ट्युवमा सिकिरहेछु तन्दुरूस्त हुने
ब्यायाम !
हेला गरेर अगेनामा पकाएको
फापर- कोदाको रोटी
तोरी- रायोको साग
चपाइहेछु बर्गरसँग आफ्नै आयु
झुण्ड्याएर विद्यावारिधिको घमण्ड
पालेर अग्रजहरू प्रतितीव्र घृणा
फुकालेर आफ्नो आदिम पहिचान
पिइरहेछु ह्विस्कीसँग मीठो विष
गालीगर्दै तपाईंकाआशिर्वचनलाई
गाइरहेछु कसैले सिकाएको नयाँ विदेशी गीत
म हराइरहेछु यो बजारमा
मलाई किन लाग्छ
आफ्नो बा आमा शत्रु
मलाई किन लाग्छ
आफ्नै दिदी बहिनी प्रतिस्पर्धी
मलाई किन लाग्छ
आफू जन्मेको घर परदेश
कसले गरिसकेको छ
मेरो मन मस्तिष्कको अपरेशन
र म डराइरहेछु
आफ्नै पुरानो सपनाँंग
कुन मालिकले मलाई अँगालेर
के सोच सिकाईरहेछ
पुरानो ठाउँ फर्कन खोजेर पनि
फर्कनै नसक्ने गरी
यो शहर बजारले मलाई
बोकाएर उसको स्वार्थको भारी
के लालचको सगरमाथा चढाईरहेछ ।
बा म के बन्न चाहन्थें
के बनाईरहेछ
बा म के भन्न् चाहन्थें
के भनाइरहेछ ?
……………
त्यो हिजोको कथा थियो
बा ! म फर्किरहेछुं  !!!!


स्नेह सायमी, काठमाडौँ
[email protected]