• २०८० चैत ३० शुक्रबार

शान्तिप्रिय वन्दना र भवानी खतिवडा पुरस्कृत

चर्चित साहित्यिक इ पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७८ को “साहित्यपोस्ट उत्तम कृति तथा उत्तम काव्य पुरस्कार”वितरण गरेको छ । धुम्बाराहीस्थित होटल अकमा प्रा.लि.मा भएको एक समारोहका बिच ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का संस्थापक उत्तमप्रसाद पन्त र ‘साहित्यपोस्ट उत्तमकाव्य पुरस्कार’का संस्थापक उत्तम भौकाजीको उपस्थितिमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

यसअघि नै वर्ष ०७८ को साहित्यपोस्ट उत्तम कृति पुरस्कार नियात्रा कृति घामभन्दा पहिलेका लागि भवानी खतिवडा र साहित्यपोस्ट उत्तम काव्य पुरस्कार कविता कृति जिल खाइरहेकी एक्काइसौँ शताब्दीका लागि शान्तिप्रिय वन्दनाले प्रदान गरिने घोषणा गरिसकिएको थियो । त्यसै अनुरूप पुरस्कृत महिला हस्ताक्षरद्वयलाई संस्थापक उत्तमद्वय, कार्यक्रमका सभापति अश्विनी कोइराला र निर्णायक मण्डलका संयोजक केदार वाशिष्ठले संयुक्त रूपमा ५०/५० हजार पुरस्कार राशिका साथमा प्रमाणपत्र हस्तान्तर गर्नुभयो ।

साथै, कार्यक्रममा साहित्यपोस्ट उत्तम कृति पुरस्कारको प्रारम्भिक सूचीमा पर्न सफल ११ पुस्तकका स्रष्टा तथा साहित्यपोस्ट उत्तमकाव्य पुरस्कारको प्रारम्भिक सूचीमा पर्न सफल ९ काव्यकृतिका स्रष्टालाई समेत प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा बोल्दै पुरस्कार संस्थापक उत्तमद्वयले साहित्यपोस्टको सर्वोत्तमकार्यमा जोडिएर साहित्य क्षेत्रका नवप्रवेशीलाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा आनन्द महसुस गरेको बताउनु भयो । साहित्यपोस्ट उत्तम कृति पुरस्कारका संस्थापक उत्तमप्रसाद पन्तले ५० हजार राशिको पुरस्कारलाई आगामी वर्षदेखि १ लाख बनाइने जनाउनुभयो ।