• २०८१ माघ २७ आइतबार

एलियन

किशन पौडेल

किशन पौडेल

मङ्गल ग्रहबाट केहि एलियनहरू ब्रह्माण्डको रहस्य बुझ्न अनुसन्धानको क्रममा पृथ्वीको भ्रमणमा आएका थिए । मानिस र उनीहरूबिच शारीरिक संरचनामा धेरै भिन्नता थियो । ती सयौँ गुणा बुद्धि, बल र ज्ञानले भरिपूर्ण देखिन्थे । भ्रमणको बन्दोबस्त अमेरिकी अन्तरिक्ष कमान्डले गरेका थिए । दोभासेको काम इजरायली इन्टेलिजेन्स एजेन्टले गर्दै थियो भने बुद्धिजीवीहरू पदप्रदर्शकमा लागेका थिए ।

यहाँको नदी–नाला, जङ्गल–पहाडहरू देखेर उनीहरू खुसी हुँदै दङ्ग पर्दै हिड्दै थिए । मङ्गल ग्रहमा त्यस्तो परिदृश्य थिएन । घुम्दै सहरतिर प्रवेश गरे जताततै मन्दिर, मस्जिद, चर्च, गुम्बा देखेर अचम्म मान्दै सोधे – ‘यी देखिएका के हुन् ?’ ‘यी भगवानहरू बस्ने घर हुन् ।’ बुद्धिजीवीहरूले बताउँदै थिए भने इजरायली एजेन्टहरूले एलियनको भाषामा उल्था गर्दै थिए ।
‘भगवान् ! को हुन् तिनीहरू ?’, एलियनहरू अचम्मित हुँदै थिए ।
‘भगवान् भनेको अदृश्य शक्ति, हामीलाई रक्षा गर्ने हाम्रो दुःख, पीडा हरण गर्ने प्रभु हुन् ।’

सडकमा मागेर बसेका बिरुप जोगी र भिखारीहरू देखे र एलियनहरूले अचम्म मान्दै सोधे– ‘यिनीहरू को हुन् ?’
‘यिनीहरू गरिब–दुखी, धन नभएर, दुख पाएर बसेका मनुवाहरू हुन् ।’ यलियन्सले आश्चर्य हुँदै भने– ‘ओहो ! भगवान् भएर पनि यहाँ गरिब–दुखी हुँदारहेछन् ।
हिँड्दै गर्दा बाटोमा टायर बालेर नाराबाजी गर्दै मानिसहरू कराउँदै भाग्दै थिए । प्रहरीहरू लखेट्दै थिए । त्यो दृश्य देखेर एलियनले दङ्ग पर्दै जिज्ञासा राखे – ‘यहाँ के हुँदै छ ?’
“यो आन्दोलन हो । सरकार विरोधी आन्दोलन । देशमा भ्रष्टाचार धेरै भयो, अन्याय अत्याचार बढेर जनताहरू सडकमा आएका हुन् ।“

एलियनहरू झन् अचम्मित भए
‘ओहो ! यस्तो हरित ग्रह पृथ्वी सुन्दर भएर पनि सारै दुखै दुःख र पीडाहरूले भरिएको रहेछ, मानिसहरूमा धेरै उन्माद बढेछ ।’ ‘हाम्रो ग्रहमा त न पानी छ न जङ्गल पहाडहरू छन् न कोही दुखी छन् न गरिब छन् हामी एउटै जातका एलियन्स हौँ । यो ब्रह्माण्डलाई बचाउने हाम्रो एउटै धर्म हो । सयौँ वर्षपछि अत्यधिक तापक्रमले यो पृथ्वी र मानव सभ्यताको विनाश हुँदै छ, हामी यो ग्रहलाई नष्ट हुनबाट जोगाउने मिसन बोकेर आएका हौँ ।“
यहाँ बढ्दै गएको अराजकता, परमाणु त्रासदी र पर्यावरणको विनाशले उनीहरू निकै चिन्तित देखिन्थे । एलियनका कुरा सुनेर विद्वान बुद्धिजीवीहरूको मनभित्र गहिरो झट्का लाग्यो र सोचमग्न हुन थाले । ओहो ! यस्तो सुन्दर भूलोकका हामी कति सङ्कीर्ण विचारहरू बोकेर आफ्नै विनाशतर्फ उन्मुख हुँदै गएका रहेछौँ । धिक्कार छ हाम्रो ज्ञान, बुद्धि र अहम् लाई ।