समाचार

उसको उपस्थिति बिना
सबै थोक विभाजित हुन्थे,
छरपस्ट हुन्थे-
प्रोटोन अलग,
न्युट्रोन अलग,
अलगथलग हुन्थे ह्याड्रोनहरू,
तीभित्र लुकेका
क्वार्कहरू अझै छिन्नभिन्न-
मोडिन सक्थ्यो संभावना
अर्कै दिशामा ।
तर एउटा रहस्य अझै बाँकी थियो,
जसले तिनीहरूलाई
एक आपसमा बाँधेर राख्न सक्थ्यो ।
प्रोटोन वा न्युट्रोनभित्रका
तीन क्वार्कहरू-
जस्तै कि
तीन फरक- फरक स्वरहरू,
जुन
अलग अलग भएर पनि
एउटै सङ्गीतको तान थिए ।
त्यो कुन रहस्य थियो-
जसको कारण
उनीहरू अलग्गिन सक्दैनथे र ?
त्यो रहस्य थियो- ग्लुअन ।
कसैको नजरमा नपर्ने,
कहिल्यै एक्लै नहिँड्ने,
पर्दा पछाडि रहेर-
क्वार्कहरूको अन्तरतम सम्बन्धमा
तर सधैँ जोडिएको।
ऊ देखिँदैन-
मौन छ।
तर उसकै कारण
कणहरू अखण्डित छन्,
अभिन्न छन् ।
एक निस्वार्थ प्रेम झैँ,
एक गुप्त आलिङ्गन
जसले
तिनीहरू भित्रको दूरीलाई
केबल
अनन्त ऊर्जा दिएर बाँधेर राख्छ ।
उसको जस्तो प्रेम दुर्लभ छ,
किनकि
ऊ छुँदा- छुँदै पनि
कहिल्यै छुँदैन-
अर्थात् एउटा स्पर्शविहीन बन्धन ।
ऊ कुनै लुकेको बलजस्तै-
आकर्षण होइन,
तर बाँध्ने ग्लुस्टिक जस्तो ।
कन्फाइनमेन्ट-
अर्थात्, छुट्टिन खोज्दा
अझ बलियो भएर बाँधेर राख्ने
ग्लुअनको अनन्त शक्ति !
जसरी केही सम्बन्धहरू
विचलनमा
अझ कस्सिन्छन्, अझ बाँधिन्छन्,
र चाहेर पनि
उनीहरू छुट्टिन सक्दैनन् ।
प्रेम पनि त्यस्तै शक्ति हो-
कहिलेकाहीँ
अलग्गिन खोज्दा
सम्बन्धका ग्लुअनहरू
झन् बेस्सरी टाँसिन्छन्
अन्तरहृदयको गहिराइमा ।
त्यो अन्तर आलिङ्गन-
जसले
सम्बन्धलाई आकार दिन्छ,
र सँगै
अस्तित्वलाई पनि ।
जसरी
बाँधिएको छु म तिमीभित्र,
ग्लुअनलेझैँ,
अदृश्य र अटुट प्रेमको सुगन्धले ।
दिपक चौलागाइ