• २०८१ कातिर्क २३ शुक्रबार

हुचिल र डायलेमाको मृत्यु

खेमराज पोखरेल

खेमराज पोखरेल

बाजे मलाई भन्दै थिए  ‘जीवन चिनिनस् हौ केटा !’
बाजे मेरा साक्खै हजुरबा हुन् । मलाई सधैँ कचकच गर्छन् । उनी कचकच गरिरहन्छन् म ‘कौन पुछे खेसडीका दाल’ भनिरहन्छु । उनको सधैँसधैँको एउटै रटान, उनको कुराले ‘इरिटेट’ भएको छु म । दिमाग खल्बलिएको छ । र सोचिरहेको छु आखिर ‘के हो जीवन ?’
एकदिन अचम्म भयो । एकाबिहानै अचम्मको नौरङ्गी हुचिल मेरै बगैँचाको तित्रीको रुखमा बस्यो । आहा हुचिल ! म रौसिएँ र कराएँ ः ‘हुचिल ! हुचिल !! हुचिल !!!’
म कराएको सुनेर मान्छेहरू भेला भए । अचम्म ! हुचिलले रूप फेर्यो र भयो उल्लु । र म पनि मान्छेका नजरमा भएँ ‘उल्लु’ । ऊ दिउँसो नदेख्ने राती मात्र देखिने भयो । म रतन्धो थिएँ । राति नदेख्ने दिउँसो मात्र देख्ने । क्या विडम्बना यार ! कस्तो नमिलेको उसको र मेरो सान्निध्य ।
हुचिल हावामा कावा खाँदै आउँथ्यो । आइरहन्थ्यो । म मान्छेलाई देखाउन खोज्थेँ । ऊ पुनः उल्लु भइहाल्थ्यो । यसरी ऊजस्तै म पनि लगातार उल्लु भइरहेँ । हुँदाहुँदा ऊ आएको सूचना नै दिनछाडेँ ।
एक दिन बिहानीपख ऊ वेगवान् गतिले हुत्तिएर आयो । नडराई मेरै समीपमा बस्यो । मैले यसपटक हल्ला गरिनँ । बरु उसलाई बेस्कन गाली गरेँ । ‘साले असत्ती आफू रूप फेरेर उल्लु बन्छस् । अनि मलाई मान्छेका सामुन्ने ‘उल्लु’ बनाउँछस् । मैले तेरो कुनचाहिँ तोरीबारी फाँडेको थिएँ ए पापी हुचिल !’
ऊ हाँस्यो । लबस्तरो हँसाइ हाँसिरह्यो । अनि भन्यो– ‘न रिसा न मनुवा । म स्वर्गबाट आएको हुँ । जसलाई पायो त्यसलाई देखाउनु मेरो दिव्य रूप ? तँसँग पो मेरो दोस्ती भएको छ । किनभने तैले जीवन बुझ्न खोज्दैछस् । अक्सर भेडामान्छेहरूले कहाँ जीवन बुझ्न खेज्छन् र !’
‘उइस् गफाडी, स्वर्ग पुगेपछि कोही यो कहालीलाग्दो मत्र्यमण्डलमा झर्ला ? कल्पवृक्ष उतै छ, मनचिन्ते व्यवस्था उतै छ । अप्सरा उतै छन् । सोमरस उतै छ ।’ जा मैले पत्याइनँ ।
उसले मानेन लगातार बोल्न थाल्यो– ‘म साँचो बोलेको अपराधमा स्वर्गबाट निकालिएको हुँ । स्वर्ग निकाला भएको हुँ । बुझिस् मनुवा, पापी छन् स्वर्ग । चाकरी चाप्लुसी खोज्छ स्वर्गले । खाने खाइरहेका छन् अमृत । पावरफुललाई छ कल्पवृक्ष, शासकजनलाई छ मनचिन्ते व्यवस्था । तर निमुखा, ‘फ्रि’ मा काम गर्छन् । फ्रिज हुन्छन् । अमृतको आशामा सधैँ अतृप्त छन् । अप्सराले आफ्नो यौवन पनि भन्न पाउँदैनन् । दिनदहाडै ‘रेप’ हुन्छन् । शताब्दी बितिसके, स्वर्ग सप्रेन । मैले समानताका लागि विद्रोह गरेँ । स्वतत्रताका लागि जेहाद छेडेँ । अनि म निकाला भएँ । स्वर्ग निकाला ! बुझिस् मनुवा ?’ यस्तो सुनेर म ट्वाँ परेँ । ऊ बोल्दै थियो– ‘मत्र्य, स्वर्ग र पाताल वा यसो भनूँ तीन लोक, चौध भुवन म कावा खाँदै घुमेको छु । कुरा बुझिस् मनुवा, यी सबै एउटै वाइह्यात कारिगरले बनाएको हो । एउटै सामग्रीले बनाएको हो । एउटै कुबुद्धिले बनाएको हो ।’

म ठानिरहेको थिएँ कि यो हुचिल पागल छ । ‘गुहु गोबर’ एकै देख्छ । तर बोलेको थिइनँ ।
ऊ त अन्तर्यामी निस्कियो । भन्न थाल्यो– ‘परफेक्टली बुझ्यौ मनुवा, यथार्थमा गुहु–गोबर हो र गोबर नै गुहु नै हो । बुझाइ मात्र फरक हो । नाम मात्र फरक हो । यी दुवै हगाइ हुन् एउटै प्रक्रियाले बनेका ।’
हुचिल उडेर गयो । हुचिलका कुराले मेरो मथिङ्गल हुँडलियो । आफ्ना सुसे धन्दाले आफैँलाई कोसेर सिध्याउन आँटे मलाई । म भित्रभित्र कोत्रिइरहे ।
म थोत्रे सोफामा पल्टिएको थिएँ । श्रीमतीका ‘अनसोल्भ्ड अल्टिमेटम’ हरू ‘फ्ल्यासब्याक’ भए । अल्टिमेटमका सहस्र लिस्टहरूको घनचक्करमा जीवन लत्रिइरहेको थियो । हुचिलले सुनाएको गुहु र गोबरको कुरा दिमागमा आयो । गुहु नै हो भन्ने ठानी अल्टिमेटमका सहस्र लिस्टका सर्तलाई सतीदेवीसँगै दक्षप्रजापतिका अग्नियज्ञमा दाहसंस्कार गर्न उचित लाग्यो । परिणाम, सम्बन्ध खरानी हुनेवाला थियो । सोचँे, हद्द भए नदीका दुई किनारा होला, कहिले पनि नभेटिऊँला । आहा परिणामको कल्पनाले मात्र पनि ममा ‘एक्साइटमेन्ट’ बढायो । तर यथार्थमा त श्रीमतीले बार्गेनिङ् गरिरहेकै थिई । ‘म तिम्रो छोराकी आमा हुँ । मेरो भावनालाई दागबत्ती दियौ भने तिमीलाई छोराले ‘टेन्सन’ दिने छ । तिम्रो जीवनले नै तिमीलाई पनि टेन्सन दिने छ । त्यो टेन्सनमा न तिमी मजाले निदाउन सक्ने छौ । न तिमीलाई शान्ति हुनेछ ।’
श्रीमतीको मामलामा म ‘केयरलेस’ हुँदैथिएँ । याने कि च्याप्टर क्लोज हुनै आँटेको थियो, छोरो देखापर्यो । ऊ मसँग नबोलीनबोली दायित्व सिकाउँदै थियो । उसले मलाई पटकपटक सङ्केतले भन्ने गरेको छ– ‘ए बाउ, तिम्रा रमाइलाका लागि मलाई जन्मायौ । नजन्मन म रोएँ । चिच्याएँ । तर तिमीहरूले उभिन्डो पारेर पनि निकालिछाड्यौ । तिम्रा स्वार्थका कारण म यो भुमरीमा परेँ । यो मायावी भवसागरमा न डुब्नु न उत्रनुको दोसाँधमा अभिशप्त बाँचिरहको छु । यसको क्षतिपूर्ति तिमीले तिर्नैपर्छ । तिमीले मेरो बोझिलो दायित्व बोकि नै रहनुपर्छ । तिमी प्रताडित भइ नै रहनुपर्छ । लोग्ने हुनाको दायित्व नबोकेर आमाको भावनालाई दागबत्ती दिएझैँ मलाई चितामा पुर्याउन सक्तैनौ तिमी ।’
उसको सङ्केतले मलाई पिरोल्न थाल्छ । र पनि आफूलाई ‘रक हर्टेड’ बनाउँछु । मनमनै गाली गर्छ– ‘भुसतिघ्रे, मेरो सहारा हुन्छ कि भनेको त कुलाङ्घार नै पो हुनेभयो । न ढुङ्ग्रो, न पुङ्ग्रो ।’
उसका यस्ता सङ्केतले म हजारपल्ट स्खलित भएको छु । अनि मेराअगाडि ठिङ्ग उभिएको छ आफ्नै बाउको कृशकाय शरीर । बाउ बोल्थेनन् तर नजरले अथ्र्याउँथे– ‘नाथु, मैले मेरा बूढा बाउको हेरचाह गरिरहेकै छु । म पनि जमानामा तँजस्तै हट्टाकट्टा थिएँ । तेरा हजुरबाउका, हजुरआमाका, तेरी आमाका, तेरा, तेरा भाइबैनीका र आफन्तका शरीरमा रगतमासु हाल्दाहाल्दै रित्तिएँ र पो त अहिले कृशकाय भएँ । कुरो बुझिस् ?’
यी कुराले म ‘अनरेस्ट’ भएर पारि आकाशमा हेर्नथाले । एकातिर नीलो आकाश थियो । अर्कोतिर बादलमा घामका डढेला डामहरू थिए । कतै तितरु बादलहरू पनि थिए । जूनको सिँयाल ताप्न निस्केका जोडी आस्थाहरू शीतलताको आशमा झुन्डिएका थिए । म किंकत्र्तव्यमूढ हुन्छु । सोचिरहन्छु बाजे ठीक कि बाउ ठीक ? म ठीक कि श्रीमती ठीक ? छोरो ठीक कि त्यो हुचिल ठीक ?

त्यसैबेला बाजे मलाई कराउँछन्– ‘बिल्टौवा, जीवन चिनिनस् हौ केटा तैँले !’
रिस उठेर आयो । तर बोलिनँ । परपर हेरेँ । हुचिल त मेरोसामुन्नेमा बसेर मेरै रमिता पो हेर्दै थियो । मेरो उछित्तो पो गम्दै थियो । केही बेरमा हुचिल मेरोनजिकै आयो र मलाई भन्नथाल्यो– ‘जीवन बुझ्छु भनेर लागेको छस् । असम्भव छ यो जीवन बुझ्न । मान्छे जोगी भएर हिँडेको छ । तपस्या गरेको छ । सोचेको छ । तप गरेको छ । जप गरेको छ । पाएँ भनेको छ । पुस्तक लेखेको छ । छापेको छ । रोयल्टी थापेको छ । पिछलग्गु बनाएको छ । पिछलग्गु बनेको छ । जिन्दावाद, मूर्दावाद भनेको छ । तर जीवन ? उफ जीवन जस्ताको त्यस्तै छ । जीवन ‘डायलेमा’ हो बुझिस् मनुवा । डायलेमा भनेको यताबाट हेरे पनि ठीक, उताबाट हेरे पनि ठीक ।’
मेरो कन्पारा तातेर आयो । ‘गफ नगर ए पापी पक्षी, हाम्रा यत्रा ऋषिमुनिले तपस्या गरेर ज्ञान प्राप्त गरेका छन् । जुनीका मोक्षबारे सविस्तार पत्ता लगाएका छन् । जिन्दगीका परिभाषा खुलाएका छन् । अठार पुराण सुन् ए हुचिल, तैँले पनि मोक्ष पाउँछस् ! यतैको कुरा गर्छस् भने पनि हाम्रो नेपाली सरहदमा जन्मेका गौतम बुद्धको ज्ञानको संसारमा हराउन सक्छस् । अनुयायी भएर यतै रमाउन सक्छस् । बेवकुफ छस् तँ, भन्छस् जिन्दगी डायलेमा हो ।’
ऊ पनि रिसायो । र भन्यो– ‘भो त्यो पापी गौतम बुद्धको नाम नले मनुवा । उसले राज्य छोड्यो किनभने उसमा राज्य हाँक्ने सामथ्र्य थिएन । एक छिन यशोधरालाई सम्झी । उसको बैँसलाई सम्झी । मनुष्यको चोला व्यहोर्न नसकेर भागेको भगुवा हो त्यो । यशोधराको बैँसको पापी हो त्यो । छोरालाई जिउँदै टुहुरो बनायो त्यसले । र त उसको राज्य नै नास भयो । वंश नै नास भयो । कपिलवस्तु नै समाप्त भयो ।’
ए बाबा, कस्तो खालको हुचिल हो यो । यसले त साँच्चै तीन लोक चौध भुवन जानेको रै’छ । घुमेको रै’छ ।
मेरा हजुरबाको जीवन बुझ्ने सल्लाह यसलाई पनि थाह होला कि । मलाई बुझाइदिन्छ कि भन्ने लाग्यो । ‘हे पक्षी तिमी त तीन लोक चौध भुवन घुमेका रै’छौ । बुद्धदेखि आइन्सटाइनसम्म जानेका रै’छौ । हिन्दूदेखि इस्लामसम्म सबै पढेका रै’छौ । कृपा गरेर मलाई बताइदेऊ– ‘जीवन भनेको के हो ?’ मैले नम्र भएर सोेधेँ । मेरो प्रश्न सुनेर ऊ हाँस्नथाल्यो । अनि भन्नथाल्यो– ‘धूर्त मान्छे, आफूलाई अप्ठ्यारो पर्दा कस्तो मीठो बोली निकाल्छ अनि सर्दो पर्यो भने मलाई लात्तले हानेर निकाल्छ । र पनि सुन् म भनिदिन्छु– जीवन भनेको डायलेमा हो । बुझ्नु भनेको भ्रम हो । भ्रमलाई साँचो भनेर हिँडेको छस् तँ त म के गरूँ ?’
मैले पनि भनेँ– ‘यति त मलाई पनि थाहा छ नि, केही गाँठी कुरा भन न, पक्षीराज !’
उसले आफ्नो घाँटी तान्यो र यताउता हेर्दै फेरि भन्नथाल्यो– ‘हेर् मनुवा, तेरो हजुरबाउलाई पनि भ्रम छ कि उसले मात्र जीवन भोगेको छ । तर ऊ द्वैध चरित्रको छ । ऊ भन्ने बेलामा भन्छ– ‘नाति हत्कडी हुन्, पनाति ठिँगुरा, झ्यालखान हो धन’ र उत्ति नै बेला ऊ छोरानातिले बूढेशकालमा पाल्दैनन् कि भनेर चिन्तित हुन्छ । र तँलाई भन्छ ‘जीवन चिनिनस् हौ केटा !’
उफ् मलाई पसिना आउनथालेको थियो । कचकचे भए पनि मेरा प्रिय हजुरबालाई जेतेमेते भनेको मलाई चित्त बुझेको थिएन । तर पनि म चुप लागेँ । अब योबाट बाउ, स्वास्नी, छोराको कैरन झार्नु पर्याे भन्ने मनसुवा आयो र शान्त भएर भने– ‘अनि मेरा बाउको मप्रतिको असन्तुष्टिचाहिँ के हो नि पक्षीराजै ?’
उसलाई लाग्यो होला उसका कुरा म पत्याइरहेको छु । त्यसैले ऊ अलिकति रौसियो । अलिकति हौसियो । अनि भन्न थाल्यो– ‘तेरा बाउ बिचरा, नाम पनि गोवद्र्धन, काम पनि गोवद्र्धन र बुद्धि पनि गोवद्र्धन नै भएका मनुवा हुन् । उनका बाबुले जोरिदिएको सम्पत्ति छ । त्यही सम्पत्तिको जगेर्ना गर्न हम्मेहम्मे छ उनलाई । गाई पालेका छन् । खाँटी दूध खाएँ भन्ने पनि घमण्ड छ उनमा । आफ्नै बारीको फर्सीको मुन्टा टिपेर खाएकोमा उनी धाक लगाउँछन् र त्यही हो संसार भनिठान्छन् । उनी लिलिपुटियन साम्राज्यको एक लठुवा रैती हुन् । इनारभित्रको भ्यागुता हुन् । भोक्ता हुन् । उनी पनि ठूलो डायलेमामा बाँचेका छन् ।’
‘अनि मेरी श्रीमतीको अल्टिमेटम ?’ हतारहतार सोधेँ ।
यो सुनेर उसले मेरो मगको पानी खोसेर जुठै खायो । मुख कुल्ला गरेझैँ मुखभित्र हल्लायो । गालगोल गर्यो । अनि मेरो पिकदानीमा पिच्च थुक्यो । उसको यस अतिक्रमणले मलाई हुनसम्मको रिस उठेको थियो । तर श्रीमतीको अभिशप्त डसाइबाट मुक्ति पाइन्छ कि भन्ने लालसा पलाएर आयो । अनि सहेँ । वज्र खपेर सहेँ ।
उसले भन्यो– ‘तेरी श्रीमती र तँ दुवै डायलेमामा छौ । तेरी श्रीमतीलाई थाहा छ कि रात पर्नेबित्तिकै तँ उसको योनिको वरिपरि घुम्छस् । सो प्राप्तिका लागि तँ उसका सबै सर्तसहितका अल्टिमेटम मान्छस् । ऊ त तँसँग बार्गेनिङ् गर्छे । एकप्रकारले भन्ने हो भने ‘बार्टर ट्रेड’ गर्छे । उसका लागि यो गजब मौका हो । तँ दुःखी हुन्छस् । तर फेरि तँसँग कुनै उपाय हुन्न । तँ निहुरमुन्टी न लाउँदै योनिभित्रै विलय हुन्छस् । तर तँ यतिबेला घरकी श्रीमती हुत्याएर परका सेता तिघ्रा सुमरूँला भन्ने ठानिरहेको छस् । त्यो बाटो कति दूरुह छ भन्ने कुरा तँलाई पत्तै छैन । तेरो सर्वस्व खन्याइसक्दा पनि त्यो ब्ल्याक होल भरिन्न । तृप्तता आउन्न । तैले यत्ति जाबो कुरा पनि बुझेको छैनस् । तेरोबारेमा यही डायलेमा हो ।’
‘अनि श्रीमतीको ?’ मेरो मूल प्रश्नको जवाफ उसले अझै दिएको थिएन ।
‘तेरी श्रीमतीमा सांस्कृतिक डायलेमा छ । ऊ सम्झन्छे कि उसले तेरो घर चलाएकी छे । उसले तेरो वंश चलाइदिएर तँलाई गुन लाएकी ठान्छे । उसले तँलाई यौन दिन्छे । तँ पाउँछस् । यो दिने र लिने सांस्कृतिक यौन मनोविज्ञानले ऊ ग्रसित छे । दिएर ऊ व्यापार गरेको ठान्छे । व्यापार गरेपछि फाइदाको कुरो आइहाल्छ । त्यसैले उसले जीवनमा प्लस खोज्छे । डिमान्ड थप्छे । तँ माइनस महसुस गर्छस् । यो डायलेमाले जीवन थाहै नपाई स्वाहा हुन्छ ।’
‘अनि नालायक छोरो ?’ मैले हठात् प्रश्न गरेँ ।
‘तेरो छोरो नयाँ युगको प्रतीक हो । ऊसँग नयाँ खाले अप्ठ्याराहरू छन् । नयाँ अवसरहरू छन् । नयाँ चुनौतीहरू पनि छन् । नयाँ जिजीविषा छन् । जुन कुरो तिमीहरू बुझ्दैनौ । अनि ऊ विद्रोह बोल्छ । आनुपातिक यथार्थ बोल्छ । तर यथार्थ समाजलाई पच्दैन । अनि तिमीहरू नालायक भनिठान्छौ उसलाई । तर उसको यथार्थले पनि जीवन त चल्दैन । यो कुरा उसले धेरैपछि मात्र बुझ्छ, त्यतिबेला समय भड्किसकेको हुन्छ । त्यो बेला उसका लागि जीवनबोध ‘मरेपछि खा बाबै केरा’ हुन्छ । यो डायलेमा पालेर अहिलेको पुस्ता बसेको छ । त्यही पुस्ताको प्रतिनिधि हो तेरो छोरो ।’
त्यसपछि हुचिल उडेर गयो । तर ममा एउटा डायलेमा याने कि भ्रमको कीला झन दह्रो बनाएर गयो । अब त मैले हजुरबाका गनगन पनि साँचो देख्नथालेको छु । बाबुको आश पनि जायज लाग्नथालेको छ । तत्क्षण छोरोलाई निक्खर आधुनिक देख्छु । श्रीमतीको अल्टिमेटम पनि ब्रह्मवाक्यझैँ लाग्नथालेको छ । श्रीमतीको चोलाको तुनोलाई परमार्थ बुझ्न थालेको छु । सोच्दासोच्दै म आफ्नै श्रीमतीभित्र एकाकार हुन्छु ।
कस्तो आश्चर्य, खोई मेरो स्वरूप ? रन्किएर घरबाट बाहिर निस्कन्छु । चक्रपथमा नारायणगोपालको सालिकलाई दाहिने पारेर एक चक्कर लगाउँछु । धूवाँ र धूलोले कालो ढुङ्गाका नारायणगोपाललाई सेते चुनिलो बनाएको थियो । धुलिलो बनाएको थियो । यो चुनिलो र धुलिलो सत्य हो कि कालो ढुङ्गा सत्य हो । डायलेमा जब्बर भएर आयो । देशलाई अरूले झैँ गाली गर्दै नाकमा मेडिकेटेड मास्क लगाएर हिँड्दै शङ्खपार्क पुगेँ । शङ्खपार्कभित्रका शिवलिङ्गलाई एकोहोरो हेरिरहेँ । लिङ्ग सोझै योनिमा जाकिएर बसेको थियो । मान्छे त्यही योनि र लिङ्गको क्रियालाई पूजा गर्दैथिए ।
झन्डै साँझ पर्नथालेको थियो । युगल जोडी जीवनको सार्थकता खोज्न शङ्खपार्कका झ्याङमुनि जिप्टिँदै थिए । मनमनमा भनेँ, अहो यिनीहरू पनि त्यही उदाङ्गिएका तिघ्रालाई जीवन ठान्छन् होला । तिघ्राको घर्षणलाई लक्ष्य मान्छन् होला । सायद एकअर्कालाई तीन तारा झारिदिने वाचा गर्दै होलान् । युगौँयुगसँगै बाँच्ने प्रण गर्दै होलान् । मैले आफ्ना कुर्कुरे बैँसका उच्छवासहरू सम्झिए । ‘थुइक्क जिन्दगी, जीवनको योभन्दा ठूलो डायलेमा के हुनसक्छ ?’
‘बिल्टुवा भइस् । जीवन चिनिनस् हौ केटा तैँले ।’ घर पुग्दा बाजे कचकच गरिरहेका थिए । र मैले ‘डायलेमाको मृत्यु !’ अनुभव गरिरहेको थिए ।

सान मार्कोस, अमेरिका