• २०८० फागुन ९ बुधबार

सिक्किमेली स्रष्टाका साथमा फिक्कल उत्सव र कृष्ण प्रसाईको कवितासंग्रह लोकार्पण

इलाम

चिनियाँ लेखक लु सुन र नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित देवकोटा- लु सुन एकेडेमीले भारतको सिक्किमबाट आएका साहित्यकार तथा पत्रकारको सम्मानमा वसन्त काव्य उत्सव आयोजना गरेको छ ।

इलामको सूर्योदय नगरपालिकामा आयोजित उत्सवमा भारतीय नेपालीभाषी साहित्यकार मोहन दुःखुन (मोहनसिंह राई)लाई ५० हजार रुपैंया राशिको पुरस्कार समेत प्रदान गरिएको छ ।

एकेडेमीका कोषाध्यक्ष कृष्ण प्रसाईका अनुसार हरेक वर्ष प्रदान गरिने देवकोटा लु सुन प्रज्ञा पुरस्कार एक वर्ष नेपालको तथा एक वर्ष विदेशमा रहेका विशिष्ट साहित्यकारलाई पदान गरिंदै आएको छ । शनिबार पुरस्कृत ७५ वर्षीय दुःखुनका १० वटा महाकाव्यसहित झण्डै ५० वटा कृति प्रकाशित भइसकेका छन् । पत्रकार चन्द्र भण्डारीले आधा शताब्दी भन्दा लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका भारतको सिलिगुढीबासी दुःखुनको साहित्यिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय, देवकोटा- लु सुन एकेडेमीका अध्यक्ष निनू चापागाई, गायक गणेश रसिक, सिक्किमस्थित विविध पिछडा वर्ग आयोगकी अध्यक्ष पवित्रा भण्डारी, सिक्किम सरकारका पूर्व सचिव किरण रसाइलीसहितका स्रष्टाले विश्वभर फैलिएका नेपालीभाषी स्रष्टाको योगदान तथा भाषा- साहित्यको आयाम माथि धारणा राखेका थिए ।

उत्सवमा सिक्किमबाट आएका पत्रकार तथा लेखक गोपाल ढकाल, जगन दाहाल, एनबी घिमिरे, होमनाथ डाब्री, दीपा राई, जीविका अश्रु, एरोन राई, मोहनकुमार क्षेत्री, बब्बु तामाङ लगायतलाई सम्मान गरिएको थियो । उत्सवमा सहभागी आरती ठकुरी (दार्जीलिङ) तथा सिलिगुढीबाट आएका लेखक देवेन्द्रनाथ शुक्ला, लतिका जोशी, युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा पनि सम्मानित भएका थिए ।

सिक्किम, दार्जीलिङ तथा सिलिगुढीबाट आएका स्रष्टाहरु नेपालमा घामको पहिलो झुल्को प्रवेश गर्ने प्रसिद्ध गन्तव्य श्रीअन्तुको घुमघाममा पुगेका थिए । आइतबार बिहान उदाएको घामको झुल्कोसँगै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले कवि कृष्ण प्रसाइको कृति ‘घामको आयु’को श्रीअन्तु पर्यटकीय बिन्दूमा बिमोचन गरेका थिए ।

सन् २०११ मा स्थापित देवकोटा- लु सुन एकेडेमीले चिनियाँ साहित्यकार लु सुनका रचनाको नेपाली अनुवाद तथा महाकवि देवकोटाका सृजनाको चिनियाँ अनुवाद गरेर भाषिक सहकार्य गर्दै आएको छ । लु सुनका ‘टलकजंग भर्सेज टुल्के’, ‘आह क्यूको साचो कथा’ नेपालीमा समेत प्रसिद्ध छन् । चीनको सांघाइमा सन् १८८१ मा जन्मेका लु सुन चिनियाँ सांस्कृतिक क्रान्तिका अगुवामध्येका एक थिए । उनको ५५ बर्षकै उमेरमा निधन भएको थियो ।