कविता

काठमाडौँ ।
ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा उपन्यासकार अमर न्यौपाने, पत्रकार र समीक्षक राजकुमार बानियाँ, पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, कवि तथा आख्यानकार हेम प्रभासले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तकको भाषा प्रस्तुति राम्रो लागेको भन्दै उपन्यासकार तथा प्रा. अमर न्यौपानेले प्रेमील उपन्यासमा विदेशी परिवेशको सुन्दर चित्रण गरेको बताए ।
समीक्षक बानियाँले युवापुस्ता केन्द्रित उपन्यासमा सकारात्मक सन्देश र तेस्रो पुस्ताको प्रयासबाट पारिवारिक मिलन भएको बताए। त्यस्तै पत्रकार सापकोटाले उपन्यास अहिलेका युवापुस्ता जेन जी पुस्ताको लागि लेखिएको जस्तो लागेको बताए ।
उपन्यास युवापुस्तालाई मात्र नभइ सबै पाठकका लागि पठनयोग्य रहेको उनको बुझाइ थियो । त्यस्तै, अभिनेत्री अधिकारीले उपन्यास एकै बसाइमा पढेर सकेको र पढ्दा फिल्म हेरेजस्तो रोमाञ्चित बनाएको अनुभव सुनाइन् । अबको आफ्नो युरोप भ्रमणमा उनले उपन्यासमा चित्रण गरेका ठाउँहरु पनि पुग्ने सोच पलाएको उनले सुनाइन् । लेखक धमलाले पुस्तक पढेर पाठकलाई सल्लाह सुझाव दिन अनुरोध गरे । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ५०५ रूपैयाँ रहेको छ ।