कविता

फलाम साह्रो छ
सुगठित छ
त्यसैले हो
कि त्यसमा पानी छ ।
आगो राप हो
राप नै हो प्रकाशको झोल
र त म भन्छु–
आगोमा पानी छ ।
पानीमा आगो छ
आगोमा पानी
दुवैको सन्तुलनमा
ब्रह्माण्ड अडेको छ
पानी मात्र नरम हैन
आगो पनि नरम हो
नत्र कसरी फुल्नु फूल ?
फूल सुवासित मात्र हैन
काँडाले घोचेर रोएको
कहिल्यै देखेको छैन फूल
काँडा पनि यति मख्ख छ फूलसँग
सायद ऊ ठान्दो हो
आफूलाई फूल भन्दा फूल ।
जब लुप्त हुन्छअहङ्कार
काँडाको तीखोपन नै प्रेमिल हुन्छ !
र त म भन्छु–
फूलमा भन्दा पनि
काँडामा धेरैधेरै पानी छ ।
देख्नुको मात्र फरक न हो
तिमी जहाँ बलेको आगो देख्छौ
म त्यहीँ झरेको पानी देख्छु !
तिम्रो नजरमा
जुन शतप्रतिशत सत्य हो
मलाई किन नलागोस्
त्यसैमा भरपूर पानी छ !
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)