• २०८२ आश्विन २२, बुधबार

खनालको उपन्यास ‘सावर्णि’लाई तानसेन प्रज्ञा पुरस्कार

काठमाडौँ ।

श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई २०८१ को तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ भित्र प्रकाशित भएका साहित्यका विविध कृतिमध्ये उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले, तानसेन प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणासँगै कृति आह्वान गरेको थियो ।

प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा कीर्तिमध्ये निर्णायक समितिद्वारा डा। श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट चयन गरी नगद पुरस्कार ६८ हजार र ताम्रपत्रसहित पाल्पामा आयोजित कार्यक्रममा स्रष्टालाई सम्मान गरिएको तानसेन प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

२०८१ मा बुकहिल पब्लिकेसनबाट प्रकाशित उक्त उपन्यास गत वर्ष विशेष चर्चाका रूपमा रहेको थियो । नौलो विषयवस्तु र शैलीका कारण पनि धेरैको विशेष गरी युवाको ध्यान यस कृतिले खिचेको छ । एआई र मानव भविष्यको विषयलाई लिएर रचिएको यस आख्यान नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन भएको दाबी पनि गरिएको छ ।