समाचार

बोस्टन ।
कवि लालगोपाल सुवेदीद्वारा लिखित ‘चेतन– प्रवाहमा सारेगमप (लामो कविता) कृति अमेरिकाको बोस्टन सहरस्थित पशुपति बुद्ध फाउन्डेशनको सभाहलमा हालै विमोचन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले बोस्टनका साहित्यकार तथा साहित्यानुरागीका माझमा उक्त कृतिको विमोचन गरेका हुन् । फादर्स डे (पिता दिवस), विश्व प्रेम कविता अभियान तथा अनेसास संस्थापक होमनाथ सुवेदी, साहित्यकार मोहन सिटौला तथा प्रेम कविता अभियानकर्ता कवीन्द्र सिटौलालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल प्रेम र शान्तिको उद्गम भूमि हो भन्ने धारणा सबै वक्ताहरूले प्रकट गरे ।
कवि लालगोपाल सुवेदीले ‘प्रेम र शान्ति‘ शीर्षकको कविता वाचन गर्दा सम्पूर्ण श्रोतागण मन्त्रमुग्ध बनेको थियो । प्रमुख अतिथि होमनाथ सुवेदीले कवि लालगोपालका कविता विशिष्ट कोटिका हुने धारणा राखे । साहित्यकार मोहन सिटौलाले कवि लालगोपालका सबैजसो कविता उच्च गुणस्तरीय हुने तथ्य औंल्याए । अनेसासका सल्लाहका गोबर्धन पूजाले बोस्टन अमेरिकाकै साहित्यिक राजधानी हो भन्ने विचार व्यक्त गरे । अभियन्ता कवीन्द्र सिटौलाले प्रेमको महत्त्व दर्शाए ।
हाम्रो संवाददाताले कृतिबारे कवि लालगोपाल सुवेदीसंग जिज्ञासा राख्दा उनले ‘चेतन प्रवाहमा सारेगमप ‘बारे थप जानकारी दिएका छन् । सुवेदीका अनुसार यो १६० पृष्ठमा फैलिएको लामो कविता हो । पाश्चात्य जगतका साहित्यकार जेम्स ज्वायस, भर्जिनिया उल्फ आदिले प्रतिपादन तथा विकसित गरेको चेतन प्रवाह शैलीको प्रयोग यसमा गरिएको छ । नेपाली साहित्यमा शंकर लामिछाने, मोहन कोइराला, इन्द्रबहादुर राई, जगदीश शम्शेर राणा आदिले यस शैलीको प्रयोग आफ्ना कृतिमा गरेका छन् ।
सुवेदी भन्छन् “यस कृतिमा मैले समय र भूगोलको लामों र फराकिलो फेरो उधिनेको छु । यसमा ३९९ वर्षभन्दा बढी समयको नेपाल निर्माण क्रममा मगर, गुरुङ, किराँत, नेवार, शेर्पा आदि जात जातिको वलिदानी र पुस्तान्तरण हुन नसकेको आत्मसम्मान भावको पीडा अभिव्यक्त छ । यसमा हिमाल, पहाड, तराईका नेपाली जातिका साँस्कृतिक योगदान र प्रथम तथा दोस्रो विश्वयुद्धमा लडेका नेपाली सिपाहीका सङ्घर्षगाथादेखि, वर्तमान नेपालको, प्रतिभा पलायन, गुम्दै गएको आत्मसम्मान, ह्रासोन्मुख सद्भाव र मानवता, व्यक्तिवादिता, पारिवारिक विखण्डन, वातावरणीय ह्रास लगायतका बहुविषयलाई चेतन प्रवाह शैली, क्रमभङ्ग स्वप्न लेखन पद्धतिद्वारा प्रकट गर्ने प्रयास मैले गरेको छु ।