हिन्दी कविता

प्रिय !
तिमी मान या नमान
तिमी विश्वास गर या नगर !
तिम्रा प्रत्येक श्वास प्रश्वासमा
तिम्रा मुटुका हरेक ढुकढुकीमा
तिमीले हेरेका हरेक निमेष र मिनटमा
तिमीले हिँडेका प्रत्येक पाइला र चालमा
तिमीलाई पलपल
माया गरेकी छु, प्रेम गरेकी छु ।
मैले गरेको प्रेम
एकान्त रोज्न होइन, अनि एकान्त खोज्न पनि होइन ।
प्रिय !
कहिले धड्किन्छ मुटु तिम्रै निम्ति
कहिले ज्वारभाटा भएर उठ्छन्
मुटुका धड्कनहरू
उठ्छन् मनमा हलचलहरू तिम्रा निम्ति
खेल्छन् मनमा कुराहरू
व्यक्त गर्न सक्दिनँ म !
मुटुमै गाँठो पर्छन्
गलामा आएर अड्किन्छन्
तर पनि तिमी मेरो नशानशामा
नसा भएर दौडन्छौ
मभित्र कतै मनमा
मुटुको टुक्रा र स्पन्दन भएर
समाहित छौ !
तिम्रो गैर हाजिरीमा
हराउन खोज्दै थियो मेरो अस्तित्व
तिम्रो अनुपस्थितिमा
रोकिँदै थिए मेरा प्रत्येक
श्वास प्रश्वास अनि धड्कन पनि ।
थाहा छ तिमीलाई ?
मैले गरेको प्रेम
केवल स्वार्थ पूर्ति
र वासनामात्र होइन !
पाउनु मात्र र आलिङ्घनमात्र पनि
प्रेम होइन,
त्याग, बलिदान, उत्सर्ग पनि प्रेम हो
समर्पण र अरूको खुसीमा रमाउनु पनि ,
अनि भुल्न सक्नु नसक्नु पनि
प्रेमकै अर्को पाटो हो ।
जीवनका पलपल
मेरा खुसीहरू
तिम्रा निम्ति त्यागेकी छु ,
मेरा इच्छा र आकाँक्षालाई
खोपीमा राखेर
दीप बालेर
पूजा गरेकी छु, पुष्प चडाएकी छु ।
सायद यसैले हुनुपर्छ आज
म तिम्रा अगाडि
निर्धक्क उभिन सक्छु
हाँस्न सक्छु, हाक्न सक्छु अनि बोल्न सक्छु
कराउन सक्छु, चिच्याउन सक्छु
किनकि !
टिस्टा र गंगाको जस्तो
कलकल गर्ने
पहाडी झर्ना र
निश्चल पवित्र नदी जस्तो
तिमीलाई चोखो अनि पवित्र प्रेम गरेकी छु ।
थाहा छैन मलाई
तिम्रो मनको शब्दकोशमा
के के लेखेर राखेका छौ !
थाहा नहोस् पनि मलाई
तिम्रो शब्दकोश हेरेर
तिमी प्रति
घृणा उत्पन्न पनि त हुन सक्छ ?
तर थाहा छ तिमीलाई ?
तिमी पढ्छौ भने मेरो मनको शब्दकोश
हेर्छौ भने शब्दकोशका शब्दहरू
त्याग, तपस्या, आदर, सत्कार
मुस्कान, दया, सहयोग
तिम्रा रोजाइ र खुसीका
कैयौं पोका पन्तुरा र कन्तुर छन् ।
मेरो मनको सन्दुकमा
तिम्रो इज्जत, मान, सम्मान
खातैखात भएर बसेका छन्
कतै माउले नखावोस भनेर
कपुर र पीपलका पातमात्र होइन
कुशे औँशीमा निकालेर
घाममा सुकाएकी छु !
तिमी अट्टहास हाँसो हाँसेर हिँड,
त्यो हाँसोलाई म प्रेम गरिदिन्छु
तिमी खुसीले बाँच अथवा नाँच
म तिम्रो खुशीमा रमाइदिन्छु
तर,
पवित्र प्रेमशब्दको अनर्थ भएको
म सुन्न र हेर्न चाहन्न
किनकि
म नारी हुँ ! स्वाभिमानी छु
म धरा हुँ, पृथ्वी हुँ, धीर छु ।
हरेक उच्छेद पनि
सहन सक्छु
सक्छु त्याग्न पनि !
बा- आमा र जन्मघर
साथी- सङ्गी, दाजु- भाइ, दिदी- बहिनी
प्रेमकै खातिर
खुशी-खुशी छोड्न सक्छु भने
अनि सक्छु बिर्सन अरूका निम्ता
आफ्ना रोजाइ र खुसी पनि ।
तिमी सोच्दै छौ होला ?
कति निष्ठुरी छ अनि
यो बदलिइछ भनेर
तर…….
कदापि होइन, किञ्चित हुँदै होइन
बदलिएकी छैन म
र बदलिन्न पनि ,
बदलिएको छ यहाँ केवल
प्रेमको परिभाषा
प्रेमगर्ने तरिका
र
प्रेमको शैलीमात्र ।
गीताश्री शर्मा, गान्तोक, सिक्किम
[email protected]