• २०८२ आश्विन ७, मंगलवार

लामिछानेको ‘न्यायको खोजीमा: उत्तरी गोरखा’ पुस्तक विमोचन

गोरखा

गोरखाली सर्जक तथा वामपन्थी अभियन्ता भक्ति लामिछानेद्वारा लिखित कृति ‘न्यायको खोजीमा: उत्तरी गोरखा’ को विमोचन गरिएको छ । शनिबार जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो । लामो समय नेपाली कम्युनिष्ट राजनीतिमा बिताएका नेता लामिछानेले पुस्तकमा गोरखा जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरु समेटेर पुस्तक तयार पारेका हुन् । उनले पुस्तकमार्फत उत्तरी गोरखालाई एक स्वायत्त क्षेत्र बनाउनुपर्ने तर्कसहित राय व्यक्त गरेका छन् ।

चार खण्डमा संरचित पुस्तकको खण्ड एकमा परिचयसहित गोरखा जिल्लाको धार्चे गाउँपालिकाको पर्यटकीय स्थलहरुको खोज विवरण प्रस्तुत गरिएको छ । दोस्रो खण्डमा गोरखा जिल्लासम्बन्धी विभिन्न सुचनामूलक तथ्य दिइएको छ । तेस्रो खण्डमा गोरखा जिल्लाको तत्कालीन गाविसहरुको तथ्यगत विवरण प्रस्तुत गरिएको छ । खण्ड चारमा गोरखा जिल्लाको सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु तथा सम्पूर्ण स्थानीय निकायको भौगोलिक नक्सा प्रस्तुत गरिएको छ ।

गोरखा जिल्लाको ऐतिहासिक पक्षहरुलाई जोड्दै विशेषगरी उत्तरी दुर्गम क्षेत्रलाई केन्द्रविन्दु गरेर तयार गरिएको पुस्तकले चुमनुव्री, धार्चे, आरुघाट, बारपाक सुलिकोट, अजिरकोट गाउँपालिकाका केही खण्डित अंशरुमा नागरिकले भोगेका अन्याय, संघर्ष र अधिकारका लागि गरिएको यात्रालाई दस्तावेजीकरण गर्न खोजिएको छ ।

उत्तरी गोरखाको दुर्गम भूगोल, त्यहाँको जनजीवन, अधिकारको अवस्थिति र उनीहरुले राज्यबाट पाउनुपर्ने न्यायको खोजीलाई लेखकले दस्तावेजीकृत गर्न खोजेका छन् । आरुघाट गाउँपालिका–९ का लामिछानेले यसअघि नेपाल किसान आन्दोलनका समस्या र समाधान (२०६४), जनगीतिसंग्रह (२०६६), संघीय गणतन्त्र र गोरखा (२०७४), राज्य पुनसंरचना, गोरखा र गोरखाली प्रतिभाहरु (२०७५) प्रकाशन गरेका छन् ।