बिकम फाइनल इयरमा पढ्ने राहुल आफ्नी सहपाठी जियासँग अगाध प्रेम गथ्र्यो । तर फाइनल इयरमा पुग्दा पनि राहुलले जियासँग प्रेम-प्रस्ताव राख्न सकेको थिएन । एउटै कक्षामा पढ्ने भएका कारण राहुल र जियाबीच वार्तालाप त हुन्थ्यो तर पढाइ या कामसम्बन्धी मात्र ।
राहुल एकदमै शान्त र शिष्ट केटो थियो । कलेजमा पनि उसका मिल्ने साथीहरू त्यति थिएनन् । जियाप्रति राहुलको मनमा उठेको भावना पनि कलेजमा खालि उसको एक साथी श्यामलाई मात्र थाहा थियो । श्याम राहुललाई आफ्नो मनको कुरा किन जियालाई नभनेको भनेर बराबर भनिरहन्थ्यो ।
यसरी समय घर्किंदै जाँदा कलेजको अन्तिम दिन पनि नजिक आइरहेको थियो । अनि एक दिन श्यामले राहुललाई सम्झायो- ‘हेर राहुल, केही दिनमा हाम्रो पढाइ सकिन्छ । हामी को कता पुग्छौँ, थाहा छैन । त्यसैले तैँले अब पनि तेरो यो प्रेमको अपहत्ते जियालाई भनिनस् भने फेरि कहिल्यै अवसर पाउँदैनस् ।’
यो सुनेर राहुल अलि गम्भीर भयो र केही त गर्नुपर्ला भनेर सोच्न थाल्यो । अनि एक दिन भएभरको हिम्मत समेटेर जिया नजिक पुग्यो र भन्यो- ‘जिया म तिमीसँग केही कुरा गर्न चाहन्छु !’
जियाले भनी- ‘भन राहुल, के कुरा हो !’
राहुल अझै हच्किरहेथ्यो । त्यसैले साउतीको स्वरमा भन्यो- ‘जिया म तिमीलाई असाध्य माया गर्छु ।’
जियाले राहुलसँग आँखा जुधाउँदै भनी- ‘के अरे !’
अब राहुलमा केही आत्मविश्वास थपिएको थियो र भन्यो- ‘हो जिया ! म तिमीसँग प्रेम गर्छु तर धेरै दिनदेखि यो कुृरा तिमीलाई भन्ने साहस गर्न सकेको थिइनँ । मैले जहिलेदेखि तिमीलाई देखेँ, चिनेँ- त्यही वेलादेखि मैले तिमीलाई प्रेम गर्न थालेको हुँ ।
जियाले फन्किँदै भनी- ‘राहुल तिम्रो दिमाग सड्यो कि क्या हो ! तिमीले यो के भनेको !’
राहुलले फेरि पनि मनमा आत्मविश्वासको गाँठो बाँधेर भन्यो- ‘हो जिया, म तिमीलाई मनको कुरा भनिरहेछु- म तिमीसँग असीम प्रेम गर्छु ।’
अनि जियाले रिसले भुनभुनाउँदै भनी- ‘तर म त तिमीसँग प्रेम गर्दिनँ । मलाई त तिमी सारै सोझो र सज्जन छौ भन्ने लागेको थियो । तर तिमी त…।’
जियाको कुराले राहुलका आँखा सजल भए । ऊ जियालाई थप केही नभनी त्यहाँबाट खुरुखुरु आफ्नो बाटो लाग्यो ।
कलेजको पढाइ सकिएको केही दिनपछि जिया डिग्री पढ्न बाहिर गई । तर राहुल जियाको सम्झानामा डुबेर उदास र हतास मनस्थितिमा दिन बिताउन थाल्यो । जियाको मुस्कान, उसको बोल्ने तरिका, हिँड्ने शैली, उसको अस्वीकार दिनरात राहुलको मनमा खेल्थ्यो र अझ विक्षिप्त जस्तो हुन्थ्यो ।
जसलाई अनुहारमा पनि ऊ झुटो मुस्कान र आश्वासन देख्थ्यो । जियाको सम्झनामा जलेर ऊ दिनदिनै खरानी हुनथाल्यो ।
यो थाहा पाएर एक दिन श्याम राहुललाई भेट्न आउँछ र भन्छ- ‘हेर् राहुल ! जियाले तँ सँग प्रेम गर्न चाहिन त तँ किन यही कारणले आफ्नो मन र शरीर बिगार्छस् ? किन मनबाट उसलाई निकालेर मिल्काउँदैनस् । तँ जत्तिको केटोले त्योभन्दा सुन्दर केटी पाउँछस् त !’
राहुलले भन्यो- हेर् श्याम ! पाएर त सबैले प्रेम गर्छन् तर गुमाएर पनि प्रेम गर्नु पो साँचो प्रेम हो । भलै ऊ मसँग नहोस् तर म जीवनभरि उसलाई नै प्रेम गरिरहने छु ।’
अनुवाद: रमण घिमिरे