कविता

मेरी अर्धाङ्गिनी !
म आउँदैछु
सपना देखिरहेको छोरोलाई नउठाउनु
निदाइरहेकी छोरीलाई नउठाउनु
रित्तो घर
चिसो ओछ्यान
र खोपीको धिपधिपे दियो हेरेर
एकटक नटोलाउनु
यो जीवन कर्कलाको पातको पानी मात्र होइन
आँखाबाट चुहि जाने दुर्बल आँसु मात्र होइन
यो जीवन सम्भावना र सिर्जनाको उन्नत भूमि पनि हो
मेरी अर्धाङ्गिनी
निर्झर मौसम मात्र ऋतु होइन
उदास खण्डहर मात्र भाग्य होइन !
शून्य प्राप्ति
र भग्नअवशेष मात्र अस्तित्व होइन
यो जीवन सुन्दर बगैंचा र असंख्य कल्पनाहरूको विस्तृति पनि हो !
मेरी अर्धाङ्गिनी-
यो जीवन व्यतीत समयको अविस्मरणीय स्मृति पनि हो !
झरेर गएका पहेंलापातहरू संगालेर
मृत संवेदनाहरू अंगालेर
निरन्तर मेरो बाटो हेरि नरहनु !
टेक्दै टेक्दै आफ्नै आयुको सीमारेखा
म आउँदैछु !
हुनसक्छ-
केही अबेर होला
केही अलमल होला
हुनसक्छ
आउँदै गर्दा म नआइपुग्न सक्छु
यदि म समयमै आइपुगिन भने बतास तिर हेर्नु
सर्वत्र फैलिएको आकाश तिर हेर्नु
बिन्ती-
विरहको भीर
र आँसुको दह तिर नहेर्नु
म आउँदैछु
आफ्नै छायाँको अन्त्यहीन पीडा कुल्चँदै
प्रिय अर्धाङ्गिनी-
स्वप्न र दुस्वप्नको दोसाँधमा उभिएर
मेरो प्रतीक्षा नगर्नु !
(मौन आवाज चर्चित कवि हुन् ।)
[email protected]