काठमाडौं,
कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन गरिएको छ । मंगलबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, समाजसेवी डा. माला खरेल, अनुराधा कोइराला, समालोचक डा. ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । डा. भट्टराईले कथा सरल र जनभाषामा लेखिएको टिप्पणी गर्दै भने, ‘कथा आख्यान हो । जस्ताको तेस्तै लेखिँदैन । यसलाई कलात्मक बनाइन्छ ।’ साहित्यकार डा. लम्सालले समाजमा देखिएका मसिना र सामान्य कथाहरूलाई टिपेर कथा बुनिएको बताए । कथाको पात्रहरू मार्फत महिलाहरूलाई ‘सङ्घर्ष गर्न सिक’ भन्ने सन्देश दिएको उनको भनाइ छ ।
समालोचक डा. पाण्डेले पुस्तकमा नारीका पीडा, उत्पीडनका विषयलाई शसक्त ढंगले उठाइएको बताइन् । पुस्तक ‘सङ्घर्ष’मा २६ वटा कथाहरू समेटिएका छन् । पुस्तकको सम्पादन रघुनाथ लामिछानेले गरेका हुन् ।
पुस्तक नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको हो ।