• २०८१ श्रावाण ११ शुक्रबार

मलाई यसरी नहेर सुन्दरी

मार्टिन कार्टर

मार्टिन कार्टर

आफ्नो झ्यालबाट मलाई यसरी नहेर सुन्दरी
नहेर मलाई, आश्चर्य नमान कि म कहाँबाट आएँ
यसै सहरमा जन्मिएको हुँ, महोदया !
साँझ छ बजे सधैँ बिटल सङ्गीत सुन्नेगर्छु ।

बिहानको हलचलमा सुन्छु कुखुरा बासेको
र जब तिमी बिहान पट्याइरहेकी हुन्छौ सिरक
रातीसम्मका लागि दराजमा थन्क्याउन
मेरा हत्केला भरिएका छन् चाउरीले
त्यसैगरी जसरी तिम्रा स्तन भरिएका छन् नसाले

नडराऊ ! र आश्चर्य पनि नमान, म्याडम !
कुनै एकजना पछि हट्नैपर्छ
जब अर्कोले चुसिरहेको हुन्छ उसको जीवन
आफ्नो झ्यालबाट मलाई नहेर सुन्दरी
हेर, कैदीहरूले भरिएको त्यस रेलको डिब्बालाई
हेर त्यस शववाहनलाई
जुन तिम्रो घरअगाडिबाटै जानेगर्छ ।

सहरको दक्षिणपट्टि बनेको
त्यो बृहत् छाप्रोलाई हेर
हेर कठोर नजरले र बुझ
म कहाँबाट आएँ र कहाँ जाँदैछु ।

अनुवादः राजेन्द्र शलभ