• २०८२ आश्विन ६, सोमबार

राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने

काठमाडौँ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा यही जेठ ३० गते शुक्रबार काठमाडौँ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको नवनिर्मित प्रेक्षालयमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना हुने भएको छ । सोमबार प्रज्ञा–प्रतिष्ठानको कार्यालय नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै उत्सवबारे जानकारी दिइएको हो । दिउँसो १ः३० बजे सुरु हुने नाट्य उत्सवमा नेपालका सात वटै प्रदेशका मौलिक गीतसङ्गीत, नृत्य एवम् नाटक प्रस्तुति हुनेछ ।

पत्रकार सम्मेलनमा कुलपति निशा शर्मा पोखरेलले उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने बताइन् । सात वटै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइने यस उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावलोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने पनि दाबी गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यक्रम रहेको उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक उपकुलपति शुम्भू राईले जानकारी दिए । बाह्य संस्कृतिको उपनिवेश एवम् आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकोले ती लोकसंस्कृतिका जगेर्नाका लागि पनि प्रज्ञा–प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति लिएको उपकुलपति राईले स्पष्ट पारे ।

कार्यक्रममा सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठपहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदेशबाट घ्याङताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा), गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदेशबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूर पश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने बताइन् ।यसैगरी उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो ?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाट्य मञ्चन समेत गरिने जानकारी दिइएको छ ।