कविता
विशाल दरबार अगाडि फराक सडको वगलमा परोपकार (समाज कल्याण ?) संस्थाको कार्यालय । नजिकै –“देशमा कोही पनि भोका, नाङ्गा र रोगी नरहुन” को महावाणी । पेटीमा धरती विछ्याएर आकाश ओढेको जीउनु र मर्नुको दोसाँधमा संघर्षरत एउटा मानव आकृति । केहिदिन अगाडिको दृश्य संझेर खिस्स हरिया दाँत देखाउने विफल प्रयत्न गर्यो । “बाफ रे ! कत्रो जुलुस ” – उस्ले जानेदेखि कहिल्यै त्यत्रो जुलुस देखेको थिएन । “तानाशाह मास्छौ ! मास्छौं !! प्रजातन्त्र ल्याउँछौं !! ल्याउँछौं !!
अर्थ बुझेन र बुझ्नु भन्दा पनि जोसले उफ्रेर कराएकै आश्चर्य र रमाइलो लाग्यो । केहीक्षण पछि उ पनि हो मा हो मिलाउँदै जुलुससँगै हिँडेको हो । एक्कासी चलेको गोलीको पर्राले मडारिएको जुलुससँगै उ पनि जताततै लास कुल्चेर वल्ल एउटा गल्लीमा छिरेर सास फेरेथ्यो , पलमै सकिएको नजानिदो दृश्य ।
सुन्यो–“कफ्र्यु लाग्यो रे ।” केही बुझेन । बुझ्यो –“सडकमा पुलिस र सैनिक सिवाए अरुले हिडन हुदैंन रे । ” चकमन्न वातावरण । उ भोकले अत्तालियो ।
तेस्रो दिन नझुल्कदै मान्छेको कोकोहोलो सुन्यो । बिहान घस्रेर सडक चिहायो । अबिर अक्षताले रातै भएर निर्भिक – “ प्रजातन्त्र ल्यायौँ, ल्यायौँ ”जुलुस देख्यो । केही सँझेझै हच्कियो । ठान्यो, – भोकले मर्नुभन्दा गोली खाएर मर्नुबेस । भिडतिर हात पसार्यो ।
जुलुसमा हिड्दै गरेका दुईजनाको गफ प्रस्ट सुन्यो – तीस वर्ष पछि जनताको अथक प्रयास र बलिदानको प्रतिफलले नै आज देशमा पुनः प्रजातन्त्र आएको छ । यस्को सही सदुपयोग र जगेर्ना गर्ने अभिभारा अब तपाई हाम्रो काँधमा आएको छ ।” उस्ले बुझेन । सोच्यो, कहाँ ? कसरी ? कुन रुपमा आयो र गयो पनि कि ? प्रश्न बिलाएर गयो । कि त्यै जुलुस थियो प्रजातन्त्र – प्रस्टिएन । हात हेर्यो, केही देखेन–केही थिएन ।
चेतन काफ्ले