• २०८१ श्रावाण ११ शुक्रबार

अली मियाँ लोकवाङ्मय पुरस्कार डा. अधिकारीलाई

काठमाडौँ, १३, चैत २०७८

यस वर्षको अली मियाँ लोकवाङ्मय पुरस्कारबाट समालोचक डा. बाबुराम अधिकारी सम्मानित भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार र ताम्रपत्र रहेको छ ।

पृथ्वीनारायण क्याम्पस, पोखराका नेपाली विभाग प्रमुख डा. अधिकारीका समालोचना र पाठ्यपुस्तक गरी करिब दुई दर्जन पुस्तक प्रकाशित छन् भने विभिन्न पत्रिकामा उनका साहित्यिक रचना पनि प्रकाशित भइरहेका छन् । उनी जमर्को पुरस्कार, नेपाल विद्या भूषण, दीर्घ सेवा पदक, बलराम वाङ्मय प्रतिभा पुरस्कार आदिबाट पुरस्कृत विभूषित र सम्मानित भइसकेका छन् ।

प्रतिष्ठानका सल्लाहकार प्रा. डा. रविलाल अधिकारी संयोजक तथा सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फणीन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले अधिकारीलाई यस पुरस्कार लागि सिफारिस गरेकोमा फागुन १५ गते आयोजना हुने लोककवि अलि मियाँको १०४औँ जन्म जयन्तीका अवसरमा उक्त पुरस्कार अर्पण गरिने कार्यक्रम छ ।

यसअघि यस पुरस्कारबाट लोकगायिका हरिदेवी कोइराला, जनकविकेशरी धर्मराज थापा, लोकगायकहरू भेडिखर्के साइँला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, प्रेमराजा महत, ठाकुर सिग्देल, संस्कृतिविद्हरू मोतीलाल पराजुली, प्रा. डा. चूडामणि बन्धु, चेतन कार्की, आना मेरी स्टर, प्रा. डा. जगमान गुरुङलगायत सम्मानित भइसकेका छन् ।