• २०८० मंसिर २० बुधबार

डा. मतिप्रसाद पुरस्कृत

काठमाडौँ/ ११ चैत्र २०७८

नेपाली लेखक सङ्घ कास्कीले प्रदान गर्ने ‘लेखक- कृति पुरस्कार- २०७७’ बाट नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकाललाई उनको पुस्तक ‘महाभारतमा के छ ?’ का लागि बिहीबार पोखरामा पुरस्कृत गरिएको छ । उनको यो पुस्तकलाई २०७७ सालमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा लिखित पुस्तकमध्ये उत्कृष्ट छनौट गरिएको हो । पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । सोही अवसरमा नेपाली पत्रकारिता, शिक्षा र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुरयाएका व्यक्तित्व केशवराज पराजुलीलाई पनि सम्मान गरिएको थियो ।

पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले सिर्जनाको साधना हुलमुलमा नहुने कुरा उल्लेख गर्दै भने- ‘चहलपहलका आधारमा उठ्न खोज्नु लेखक बन्नु नभई लेखक बनेको भ्रममात्र पाल्नु हो । सिर्जना एकान्तमा हुर्कन्छ । मतिप्रसाद ढकालको लेखन एक ऋषिले गर्ने साधनाझैँ एकान्तमै हुर्केकाले उनको लेखन निकै उत्कृष्ट छ ।’

कार्यक्रममा नेपाली लेखक सङ्घका महासचिव डा. रत्नमणि नेपालले लेखक सङ्घले सर्जकहरूलाई निरन्तर सिर्जनामा लाग्ने प्रेरणा दिन विभिन्न कार्यक्रम गर्ने कार्यमा सधैँ जोड दिँदै आएको उल्लेख गरे । उनले भने- ‘नेपाली लेखक सङ्घ आउँदा दिनमा पनि यसरी नै केन्द्रदेखि जिल्लासम्म निरन्तर जागरणका कार्य गर्दै जाने कुरामा सचेत छ ।’

पुरस्कृत व्यक्तित्व डा. ढकालले पुरस्कारका पछाडि लागेर आफूले सिर्जना नगरेको बताउँदै आफ्ना लागि सिर्जना नै एक मात्र धर्म भएको उल्लेख गरे । उनले भने- ‘आफ्नो जीवनको अंश चिन्नु, निरन्तर लेख्नु र स्वतन्त्र ढङ्गले लेखिरहनु नै एक सर्जकको दायित्व हो ।’

सम्मानित व्यक्तित्व केशवराज पराजुलीले समयले कसैलाई नपर्खने हुँदा समयसँगै हिँड्न प्रयास गर्नुपर्ने बताए ।

सो अवसरमा पुरस्कार छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले कृति छनोटका आधारहरू प्रस्तुत गर्दै भने- ‘पूर्वीय दर्शनको महत्त्वपूर्ण कृतिका रूपमा ‘महाभारतमा के छ ?’ कृति र प्रजातान्त्रिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताका प्रखर हिमायती व्यक्तित्वका रूपमा पराजुलीलाई छनोट गरिएको हो । प्राप्त कृतिहरूको गहन अध्ययन गरी उत्कृष्ट कृतिका रूपमा पुस्तक छनौट गर्ने क्रममा पोखरेली परिवेशमा रहेर प्रेरणादायी जीवन बाँचेका पराजुलीलाई छानिएको हो ।’

उक्त अवसरमा विद्यावारिधि उपाधि प्राप्त गरेकोमा लेखक सङ्घका आजीवन सदस्यद्वय डा. ईश्वरमणि अधिकारी र डा. भूमिराज बस्ताकोटीलाई पनि सम्मान पनि गरिएको थियो ।