• २०८१ माघ २ बुधबार

घडेरी

विवेक दुलाल क्षेत्री

विवेक दुलाल क्षेत्री

जयन्तले ठाउँ ठाउँ जागिर खोजेर हिँड्दा पार नलागे पछि विदेश जाने नै निश्चय गर्यो । उसको धन सम्पतिको नाममा त्यहि बाटो छेउको एक कठ्ठा जमिन थियो जुन उसले दुःख गरेर कमाएको पैसाले किनेको थियो । अब त्यही जग्गा उसले सावामा नै बेच्यो ।

जयन्तले खाडीमा गएर जेनतेन पैसा कमायो, उपल्लो हैन ठिकै । पुनः घर आएर घडेरी हेर्न थाल्यो । उसलाई कुनै पनि मन परेन । अनि आफूले पहिले बेचेको माटो हेर्न मन लागेर त्यहाँ गयो । त्यो मान्छेले घर बनाएको रहनेछ । उसलाई आफूले बेचेको घडेरी सबै दृष्टीले मन पर्यो ।

यहि बेला उसको जग्गा किन्ने मान्छेले भन्यो- “होइन हौ जयन्तजी फेरी आफैँले बेचेको माटो किन्ने बिचार छ कि क्या हो ..?, मन भए भन्नुस् यो जग्गा त जग्गा हो ..!”

जयन्तले मनको कुरा खोल्यो – “कति भन्नु हुन्छ त ?” त्यो मान्छेले भन्यो- “अरू भए धेरै नै भन्थे, अब म के भनौँ तपाइँले बेचेको दाम भन्दा डबल दिनुहोस्.!” यसरी जयन्तले पाँचलाखमा आफैँले बेचेको जग्गा दशलाखमा किन्यो ।

अहिले ऊ घर बनाउने रकम जुटाउनको लागि कोरिया जान भनेर कोरियन भाषा सिक्दैछ । जानकारहरू भन्छन् .“जयन्त कोरिया जानेमा शंका छैन, तर त्यति नै पैसा कमाएर ल्याउनेमा शङ्का छ !”


विवेक दुलाल क्षेत्री “दमक”
bibekdulalkshetrigmail.com