• २०८२ आश्विन ८, बुधबार

यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान

वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । १२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ मा उनलाई नगद ५१ हजार रूपैयाँ तथा सम्मानपत्रसहित यो सम्मान प्रदान गरिएको हो । काठमाडौंमा शुक्रबार आयोजित अवार्ड समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अवार्ड कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले गीतकार खरेललाई सम्मान गरे ।

अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक÷गायिका घोषित भए। आचार्यले ’एक दिन उज्यालो छाउला’ गीतबाट अवार्ड पाउँदा भट्टराईले ’गुनासो’ गीतबाट अवार्ड जितेकी हुन् । त्यस्तै, आधुनिक विधातर्फ नरहरि प्रेमी ’घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्यले ’तिमी सँगै छैनौं’ गीतबाट सर्वोत्कृष्ट गीतकारको अवार्ड पाए । गायिका अन्जु पन्त र गायक नरेश रेग्मीलाई ’धर्ती र जूनको कहानी’ गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड दिइयो ।

’एउट जून’ गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड पाए। ’आदत’ गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते। पेश थापाले ’तिमीबिना चल्दैन’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार बन्न सफल भए भने ’लामपाते सुरती’ बाट रबिन बिकले सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादनको अवार्ड जित्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले ’विदाई’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ मोडलको अवार्ड पाउँदा शान थापाले ’छुनै हुन्न जस्तो’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकको अवार्ड पाएका छन् ।

एलिना चौहानले ’तिमीबिना चल्दैन’ गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन्। ’भाग्य लेख्ने भगवान’ गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरीतर्फको अवार्ड प्राप्त गरे। ’पागल’ गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आलेले ’ढल्केबरैमा’ गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड पाइन् । ’जति टाले पनि’ गीतबाट सुरज पण्डितले गायनतर्फको जुरी अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनरको अवार्ड शम्भु पुरीलाई दिइयो ।

पप गायनतर्फ गायक प्रेज्वल नेपाली ’कस्तो माया’ गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे ’कलियुगकी राधा’ गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट रयापर बन्न सफल भए । लोकदोहोरीतर्फ सरोज लामिछानेले ’खोली तरेको’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने सुनिता बुढा क्षेत्रीले ’उजेली’ गीतबाट सर्वोत्कृष्ट गायिकाको जितिन् । कृष्ण केसीले ’ठूली’ गीतबाट सर्वोत्कृष्ट संगीत, सन्तोष सापकोटाले ’बस्यौ अलक्कै’ गीतबाट सर्वोत्कृष्ट गीतकार, सामना शाह ’आँसुको वर्षात्’ बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा ’तिम्रो जवानी’ गीतबाट सर्वोत्कृष्ट संगीत संयोजक, खड्ग बाजुराली ’ठूली’ गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादनको अवार्ड पाउन सफल भए। त्यस्तै, मौसम हिमालीले ’कश्मिरे पछ्यौरी’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकको अवार्ड पाए ।

बादल घिमिरेले ’कसम तोड्ने भा’ बाट सर्वोत्कृष्ट म्युजिक भिडिओ मोडल पुरूष र अस्मिता पुरीले ’फूलमाया’ गीतबाट सर्वोत्कष्ट म्युजिक भिडियो मोडल महिलातर्फको अवार्ड पाइन् । रेश्मा तामाङ ’जुध्यो नजर’ गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् । गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ’ठट्यौली ठाडो भाका’ गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो। गायक रायन बस्यालले ’घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले ’कतै म हराएँ कि’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ नव–निर्देशकको अवार्ड पाए। गायक रामचन्द्र चन्दको ‘पापीनीलाई’ लाई सर्वोत्कृष्ट लोकगीतको अवार्ड दिइयो ।

सबिन आचार्य र निशा गुरूङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक/गायिका घोषित भए । ’ए गौरी’ गीतबाट गायिका संगम लामिछाने र ’लजाउँदै लजाउँदै’ गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस लोकदोहोरी तर्फको अवार्ड चुम्न सफल  भए । त्यसैगरी, फिल्म विधातर्फ गीतकार प्रमोद ढुंगाना ’उपहार’ को ’हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ’ज्वाइँसाप’ को ’कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । ’दिमाग खराब’ को ’झम्के झमाझम’ गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट गायक÷गायिका बन्न सफल भए। गायक सबिन सुवेदीलाई ’छक्कापञ्जा ५’ को ’बिहे भाको छैन’ गीतबाट इन्करेजमेन्ट अवार्ड दिइयो ।

कार्यक्रममा ’म्युजिक खबर रजत सम्मान’ बाट ’के तल बस्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ’म्यूजिक खबर दशक संगीत सम्मान’ अर्पण गरियो भने गायिका मिना लामालाई ’म्युजिक युवा संगीत सम्मान’ अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देबकोटालाई ’म्युजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो। त्यस्तै फोटो पत्रकारितामा उचाइ कायम गरेका फोटो पत्रकार प्रदीपराज वन्तलाई म्युजिक खबर फोटो पत्रकारिता सम्मान अर्पण गरियो ।

गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्युजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भीर विष्टलाई म्युजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्युजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्युजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई ५५५५ रूपैयाँसहित म्युजिक खबर संगीत कला सम्मान अर्पण गरियो । शुभकामना मिडिया सोलुशनको आयोजना तथा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम भएको थियो । अवार्डका अध्यक्ष सुमन पण्डितले कला क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनका निम्ति म्युजिक खबरको यात्रा निरन्तर अगाडि बढिरहेको बताउँदै अवार्ड र सम्मानले अझै ऊर्जा प्रदान गर्ने बताए ।