समाचार

नहुनु पनि
त्यति खतरनाक हुँदैन,
जति खतरनाक हुन्छ-
अधुरो हुनु ।
दोछाया
खुल्ला अँध्यारोभन्दा पनि
अझ बढी खतरनाक हुन्छ ।
अज्ञानता
बरु निर्दोष लाग्छ,
तर अल्पज्ञान-
भ्रमको दुस्साहस बोकेको खतरा हो ।
रित्तो भाँडो
सधैँ मौन रहन्छ,
मौन हुनु बरु गल्ती होइन,
आधा भरिएको भाँडो-
उत्ताउलो हुन्छ, छचल्किन्छ,
सबैतिर पोखिन्छ ।
कहिलेकाहीँ
दृश्यमान
दुश्मनको घेराभन्दा पनि,
अदृश्य कुरा
बढ्ता खतरनाक हुन्छ ।
अँध्यारोको साम्राज्य
छर्लङ्ग देखिन्छ,
तसर्थ, कम खतरनाक हुन्छ-
जति खतरनाक हुन्छ
उज्यालोभित्र लुकेर बसेको
सूक्ष्म अँध्यारो ।
दीपक चौलागाईँ